धरान/धरान–८ र १९ जोड्ने धनकुटे रोडको पुल भत्किएको तीनवर्ष कटिसकेको छ । २०७२ असोज ८ गते साँझ करिव सवा ८ बजे भत्किएको पुल हालसम्म पनि निर्माण पूरा हुने सकेको छैन् । [caption id="attachment_61454" align="alignnone" width="979"]bp-road-Bridge-dharan तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] डिभिजन सडक कार्यालय विराटनगरले २०७३ जेठमा १८ महिना भित्र सक्ने गरी धरानकै श्याम कन्ट्रक्सन निर्माण सेवालाई ठेक्का दियो । तर, निर्माणको जिम्मा पाएको श्याम कन्ट्रक्सनले गत जेठबाट फेरि अघि बढाएको छैन् । ‘कहिले बनाउछन् कहिले ?’ त्यहाँका स्थानीयबासीको गुनासो यस्तो छ । एक करोड ५ लाख रुपैयामा ठेक्का पाएको ठेकेदार सचिन क्षेत्री अहिले सम्पर्क बाहिर छन् । कतिपयले ठेकेदार भागेको अनुमानसमेत लगाउन थालेका छन् । एक स्थानीयले भने, ‘ठेकेदार भागेको भन्ने सुनिन्छ । जेठदेखि काम लथालिङ छ । खैँ कहिले बन्ला कहिले ?’ ११ मिटर लम्बाई रहेको पुलको चौडाई पनि ११ मिटर नै छ । जसमा पुलको दुबै तर्फ ७ फिटको फुटपाथ बनाउने सम्झौता छ । तर, ठेकेदार भागेका कारण पुल अहिले अलपत्र छ । पुल भत्किएको तीनवर्ष वित्दा पनि पुल नबन्दा स्थानीबासी आक्रोसित छन् । त्यति मात्रै हैन, सवारी आवागमनसमेत ठप्प छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामीहरुलाई असहज छ । दैनिक भानुचौक तथा बगैचालाइनको सडकबाट यात्रा गर्नुपर्ने बाध्यता छ । बिरामी बोकेर आउने एमबुलेन्सहरुलाईसमेत समस्या छ । डिभिजन सडक कार्यालय विराटनगरले पनि चासो नदिँदा ठेकेदारको लापरबाहीले सीमा नाघेको छ । सडक कार्यालयले दवाव दिनुको सट्टा उल्टो सहयोग गरेको देखिन्छ । ‘चुनाव थियो, वर्षाले गर्दा काम अवरुद्ध थियो । अव काम अघि बढ्छ ।’ यो पुल हेरिरहेका इन्जिनियर दीपक झा भन्छन् । उनलाई हामीले रकम निकासा नभएका कारण समस्या हो कि भन्ने विषयमा बुझ्न खोज्यौं । ‘रकमको समस्या होइन् ।’ झाले थपे, ‘चाडै सकाउन भनेका छौं ।’ तर, उनलाई ठेकेदार भागेको विषयमा जानकारी रहेनछ । उनले अव केही दिनभित्रै काम सुरु हुने भन्दै हामीलाई आश्वासन दिए । ठेकेदार सचिन क्षेत्रीलाई हामीले मोबाइलमा फोन सम्पर्क गर्न खोज्यौं । तर, उनको फोन बन्द भएको पाइयो । पुलका स्थानीयबासीहरुलाई कहिलेदेखि काम बन्द भएको छ भन्ने बारेमा बुझ्दा गत जेठदेखि काम रोकिएको उत्तर दिए ।