इटहरी ।  विरामीको उपचार गराएर घर फर्काउँदै गरेको विराटनगरस्थित नोवेल मेडिकल कलेजका दुई वटा बसमा मंगलबार साँझ तोडफोड भएको छ । विराटचौक स्थित पचाम चौक नजिक विरामी बोकेका गाडीमा तोडफोड भएको इलाका प्रहरी कार्यालय वेलवारीका प्रमुख रामजी कटुवालले बताए । उनका अनुसार तोडफोडमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । तोडफोडबाट केही विरामीलाई चोट समेत लागेको नोवेल मेडिकल कलेजले जनाएको छ । नोवेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका डा. देवराज घिमिरेका अनुसार मंगलबार साँझ साडे ६ बजेतिर दुई वटा बस तोडफोड गरिएको हो । ४२÷४२ जना विरामी बोकेको ना ७ ख ५७४७ र को १ च  १०९३ नम्वरका दुई वटा बसमा पछाडीबाट ढुङ्गा प्रहार भएको र उपचार गराएर ल्याउँदै गरेका बसमा सवार केही विरामीलाई सामान्य चोट लागेको पनि डा. घिमिरेले बताए  । त्यस पछि विरामी तथा आफन्तले गाडी तोडफोडको विरोधमा केही बेर विराटचौकमा सडक अवरुद्ध समेत पारेको डा. घिमिरेले बताए । नोवेल मेडिकल कलेजका पूर्व प्रवन्ध निर्देशक डा. सुनिल शर्माले भने बाम गठबन्धनका कार्यकर्ताले गाडी तोडफोड गरेको आरोप लगाएका छन् । नोवेल मेडिकल कलेजले अहिले मोरङका विभिन्न स्थानमा निःशुल्क स्वास्थ शिविर गर्दै आएको छ । शिविरले प्रदेश तथा स्थानीय निकायको निर्वाचनलाई प्रभाव पारेको भन्दै प्रतिश्पर्धी दलका नेता तथा कार्यकर्ताले विरोध गर्दै आएका छन् । डा. शर्मा नेपाली काँग्रेसबाट मोरङ क्षेत्र नम्वर ३ बाट मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधी सभाको सदस्यमा उमेद्वारी दिएका छन् । इलाका प्रहरी कार्यालय वेलवारीको प्रमुख रामजी कटुवालले गाडी तोडफोडमा अन्य संलग्नको समेत खोजी भइरहकोको बताए ।