झापा/भारतीय खुल्ला सीमावर्ती क्षेत्रसँग जोडिएको नेपालको पूर्वी नाकामा सुरक्षा व्यवस्थापनका लागि नँया योजना अघि सारिएको छ । सीमा क्षेत्रबाट भित्रिन सक्ने बिष्फोटक पदार्थ तथा हातहतियारको निगरानीका लागि यस क्षेत्रमा सुरक्षा चेकजाचमा डग(कुकुर) परिचालन गरिएको छ ।
पूर्व क्षेत्रीय डग(कुकुर) शाखाबाट सही दयानन्द श्रेष्ठको नेतृत्वमा यस क्षेत्रमा चेकजाच गरिराखेको पाइएको छ । भारतबाट जुनसुकै समय यस प्रकारका सामान भित्रिन सक्ने भन्दै कडा निगरानीका लागि यस्ता खाल्काे योजना अघि सारिएको इलाका प्रहरी कार्यालय काकँरभिट्टाका प्रमुख टंकप्रसाद भट्टराईले जानकारी दिए।
नाकाको चेक पोईन्टमा राखिएको सो कुकुरले भारतबाट आउने सवारी साधानहरुमा आफ्नो निगरानी बढाउने गरेको छ । यो कुकुर निर्वाचन अवधि पछि आवश्यक परे यही राख्न सकिने भएको छ । उता जिल्ला प्रहरी कार्यालय झापाले मतदानका दिन परिचालन गरिने सुरक्षा व्यवस्थाका लागि रणनीति बनाइसकेको बताएको छ । झापामा २८३ मतदान स्थललाई सुरक्षाको दृष्टिकोले झापा प्रहरीले तीन चरणमा विभाजन गरिसकेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।
उनका अनुसार झापामा ४९ वटा अतिसंवेदनशिल, १०५ वटा संवेदनशील र १२९ वटा सामान्य गरी मतदान स्थलको विभाजन गरिसकेका छौ । झापा क्षेत्र नम्बर ५ मा सबै भन्दा बढी १४ वटा अतिसंवेदनशिल मतदान स्थल रहेको छ भने, झापा क्षेत्र नम्बर ३ मा ११ वटा र बाँकी १, २ र ४ वटा क्षेत्रमा ८/८ वटा अतिसंवेदनशिल मतदानस्थल रहेको नायव प्रहरी उपरीक्षक बस्नेतले बताए । भारतीय खुल्ला सीमावर्ती क्षेत्रसँग जोडिएको मतदान स्थल रहेकोले सुरक्षाको दृष्टिकोणले सोही अनुसारमा विभाजन गरिएको उनले बताए ।
केन्द्रीय सुरक्षा परिचालन नीति अनुसार झापामा २ हजार प्रहरी र २७५५ म्यादी प्रहरी गरी ४७५५ प्रहरी खटाइने छ । अतिसंवेदनशील स्थलमा चार प्रहरी र १० म्यादी प्रहरी, संवेदनशीलमा तीन प्रहरी र सात म्यादी प्रहरी, सामान्यमा तीन प्रहरी र पाँच म्यादी प्रहरी खटाइने छ । साथै प्रत्येक क्षेत्रमा सात वटा मोबाइल प्रहरी गस्ती पनि परिचालन गरिने छ, भने सशस्त्र प्रहरी र नेपाली सेना पनि खटाइने छ ।