भद्रपुर । आगामी मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाइ मध्यनजर गर्दै प्रहरीले होटल तथा लजलाइ निगरानी गर्ने भएको छ । निर्वाचनको शान्ति सुरक्षालाई मध्यनजर गर्दै झापाको भद्रपुरमा सञ्चालित होटल तथा लज व्यवसायीले बेलुका ८ बजेसम्म पसल खोल्न पाउने गरि निगरानी बढाएको हो । आसन्न निर्वाचनलाई भयरहित बनाउनका लागि वडा प्रहरी कार्यालय भद्रपुरद्धारा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा नगरपालिका जनप्रतिनिधि र होटल व्यवसायीले प्रहरीले अघि सारेका एजेण्डामाथि सहमत जनाएका हुन् । विभिन्न जिल्लामा उम्मेदवारीमाथि भइरहेको आक्रमण तथा झापाका होटल तथा लजमा हत्या लगायतको विकृती बढेसंगै वडा प्रहरी कार्यालय भद्रपुरले नगरको शान्ति सुरक्षामा विशेष निगरानी बढाउने लागेको वडा प्रहरी कार्यालयले जनाइएको छ । प्रहरी, जनप्रतिनिधि र होटल व्यवसायीसंग बिच भएको सहमति अनुसार बेलुका ८ बजे पछि नगरको साना तथा ठूला सबै होटल तथा लज बन्द गर्ने, होटलमा यौनजन्य क्रियाकलाप नगराउने, ग्राहकको परिचयपत्र खुल्ने कागज र होटलमा दुरुस्त अभिलेख राख्ने, शंकास्पद व्यक्ति होटलमा आएमा तत्काल प्रहरीलाई खबर गर्ने, विना इजाजत मादक पदार्थ बिक्रीबितरण नगर्ने, घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नगर्ने लगायत बिषयमा सहमति भएको वडाका इन्सपेक्टर कुलप्रसाद चौधरीले जानकारी दिए । भारतको विहार तथा बंगाल सीमावर्ती नाकासंग जोडिएको भद्रपुर नगर शान्ति सुरक्षाको दृष्टिकोणले अति संवेदनशील क्षेत्र रहेकोले मादक पदार्थ बिक्री वितरण गर्ने होटल व्यवसायीलाई लक्षित गरेर यस्तो सुरक्षा रणनीति बनाएको इन्सपेक्टर चौधरीले जानकारी दिए । कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रामाया श्रेष्ठले नगरमा सञ्चालित होटल व्यवसायीले नगरको शान्ति सुरक्षामा सहयोग गर्नुमा जोड दिएका थिए । नगरपालिका तथा आन्तिरक राजश्व कार्यालयमा अनुमति नलिएको होटल व्यवसायीले तत्काल अनुमति लिएर मात्र पसल सञ्चालन गर्न आग्रह गरेका थिए । कार्यक्रममा ठुला खाले व्यवसाय गर्ने होटल मालिकको भने उपस्थिती रहेको थिएन । सानालाइ मात्र कानुन लगाउने तर पहुँचवाला होटल तथा लजले भने नियम पालना नगर्दा हुने भन्दै नियममा पक्षपात नगर्न सहभागीले अनुरोध गरेका थिए ।