सुरुङ्गा । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१प ९८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा३ख ५८८७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो ।
माइक्रोबसको ठक्करबाट गम्भीर घाइते बनेका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको बताइएको छ ।