शनिश्चरे/वाम गठवन्धनको चुनावी अभियानलाई तीव्र बनाउने सन्दर्भमा मोरङको विराटचोकमा आमसभा र पथरीशनिश्चरेमा ३ स्थानमा कोणसभा सहितको घरदैलो अभियानको तयारी भएको छ ।
शनिबार पथरीशनिश्चरे नगरको किरातीचोक, शनिश्चरे चोक र पथरी चोकमा उम्मेदवार सहितको कोणसभामा घोषणपत्र सहितको कार्यक्रम प्रस्तुत हुने ३ क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक चण्डीप्रसाद राईले जनाए । उनले एमालेका पोलिटव्यूरो सदस्य एवम् मोरङ ३ का उम्मेदवार भानुभक्त ढकाल, प्रदेश क बाट माओवादी केन्द्रका उम्मेदवार गीता तिम्सिना सहितले सभामा गठवन्धनको औचित्य सहितका प्रतिवद्ध धारणा राख्ने बताए । साथै आइतबार विराटचोकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहभागि हुने विशाल आमसभाको समेत तयारी भएको उल्लेख गरे ।
वाम गठवन्धनको चुनावी अभियानलाई तीव्रता दिनका लागि शुक्रबार पथरीशनिश्चरे १ मा संयुक्त वडा भेला सम्पन्न भएको छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार एमालेका भानुभक्त ढकाल, प्रतिनिधिसभा क की माओवादी केन्द्रकी गीता तिम्सिना र ख का एमालेका राजकुमार ओझा सहित समानुपातिक उम्मेदवारहरुलाई विजयी बनाउन वडा र टोल टोलमा लागि पर्ने सहभागिले राय व्यक्त गरेका छन् ।
भेलामा, प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार तिम्सिना तथा समानुपातिक उम्मेदवार एमालेकी कृष्णकुमारी राई र माओवादीकी सुशीला घिमिरेका साथै एमाले प्रदेश सदस्य रामकुमार वस्नेतले गठवन्धनको बहुमतको जित हाँसिल गर्ने अभियान अघि बढेकाले सवैलाई त्यसतर्फ उत्साहका साथ होमिन आव्हान गरेका छन् ।