पाँचथर/ जिल्लाको निर्बाचन सुरक्षा व्यवस्था प्रति प्रहरीले उच्च संवेदनशीलता अपनाएको जनाएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्बाचन सुरक्षाको बिषयमा कुनै कसुर बाँकि नराखिने कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए । पाँचथरमा पहिलो चरण अन्तर्गत आगामी १० मंसीरमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्बाचन हुँदैछ । जिल्लाका कूल एक सय एक मदानस्थलमध्ये २० मतदानस्थललाई अति संवेदनशील, ६६ संवेदनशील र अन्यलाई समान्य मानिएको छ । मतदानस्थलको संवेदनशीलताकै आधारमा सुरक्षा व्यवस्था पनि मिलाइएको प्रहरी नायब उपरिक्षक गौतमले बताए । चुनाबी प्रतिश्पर्धामा रहेका मूख्य राजनीतिक दलका कार्यकर्ताबीच टकराबको सम्भावना रहेका र भारत सँगको सिमा क्षेत्रमा रहेका मतदानस्थललाई अति संवेदनशील मानिएको प्रहरीको भनाई छ ।
निर्बाचन सुरक्षालाई मध्यनजर गरी प्रहरीले निर्बाचन प्रक्रियालाई प्रभावित पार्ने कार्यमा संलग्न रहेको आशंकामा जिल्लाको विभिन्न स्थानबाट सात जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै इजातज प्राप्त २० थान भरुवा लगायतका बन्दुक समेत संकलन गरेको प्रहरी नायब उपरिक्षक गौतमले बताए । ती बन्दुक निर्बाचनको मतपरिणाम सार्बजनिक भएपछि मात्र सम्बन्धित ब्यक्तिलाई फिर्ता दिइने उनले बताए । निर्बाचन सुरक्षाका लागि जिल्लामा सात सय १९ नेपाल प्रहरी, आठ सय ३२ म्यादी प्रहरी सहित शशस्त्र प्रहरी बल र नेपाली सेना गरी करीब २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई निर्बाचन क्षेत्र रहेको पाँचथरमा दुई लाख २५ हजार दुई सय १९ मतदाता रहेका छन् ।