कात्तिक । मंगलबार बिहान ट्याम्केमैयुङ्ग गाउँपालिकाको गोगनेमा चुनावी सभा सम्वोधनको लागि पूर्व सूचना तथा सञ्चार मन्त्री एवं एमालेका उम्मेदवार शेरधन राई कार्यकर्ता र अंगरक्षकको साथमा भोजपुर सदरुमकामबाट हिँड्नुभयो । धुलो र कच्ची बाटोबाट दलगाउँ र कोटको गुम्बा डाँडामा पुग्दा अचानक एउटा आवाज आयो ।

त्यतिबेला सोच्नुभएको थियो, ल्यान्ड रोभर गाडीको टायर पन्चर भएछ भनेर..। जंगलबाट गोली पड्केको आवाज अंगरक्षक डिल्ली देवकोटाले थाहा पाएपछि पूर्वमन्त्री राईलाई बसेको सिटमुनि टाउको लुकाउन लगाएर जवाफी फायर गर्नुभयो । त्यसक्रममा अंगरक्षक सामान्य घाइते भएका छन् ।भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा उम्मेदवार राईले बम प्रहारको घटनापछि भन्नुभयो, ‘मलाई सिध्याउने गरी सुनियोजित रुपमा बम हानियो ।’ बम प्रहारबाट उहाँ चढेको बा १५ ज ५६०८ नम्बरको ल्यान्ड रोभर गाडीको अगाडिको भाग ध्वस्त भएको छ । ‘यो घटनालाई मैले गम्भीर रुपमा लिएको छु, मैले सानैदेखि भोजपुर र भोजपुरे नागरिकको सेवा गर्दै आएको छु । मेरो पहिचान र परिचय भोजपुरमा निष्कलङ्क नेताको रुपमा स्थापित छु । मैले जानेर आजसम्म गल्ती गरेको छैन । निष्ठा र इमानको साथ नागरिकको सेवा गरिरहेको मान्छेलाई सिध्याउने गरी बम हानेको यो घटनाले दुःखी बनाएको छ’ नेता राईले भन्नुभयो । पूर्वमन्त्री राईलाई प्रदेश नम्बर एकको मुख्यमन्त्रीको रुपमा हेरिएको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । तर, घटनामा नेत्रविक्रम चन्द ‘विप्लप’का कार्यकर्ताहरु संग्लन रहेको प्रहरीको अनुमान छ ।