विराटनगर । नयाँ शक्ति नेपाल १ नम्बर प्रदेशले आउँदै गरेको प्रतिनिधी र प्रदेश सभाको निर्वाचन लक्षित प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।
विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी नयाँ शक्तिले प्रतिबद्धतापत्र सार्वजानिक गरेको हो ।
उनीहरुले सार्वजानिक गरेको प्रतिबद्धता पत्र कम्युनिष्ट व्यवस्थाकै नक्कल गरिएको छ । सम्पूर्ण भूमि राज्यको स्वामित्वमा लाने र भूमिमा भएको द्धैध नीति अन्त्य गर्ने, भू–उपयोगमा सबैको समान पहुँच पुग्ने गरी भूमि नीति निर्माण गर्ने, वैज्ञानिक भूमिसुधार लागू गर्ने, भूमिहिन सुकुमबासीलाई राज्यद्वारा जमिन वितरण गर्ने लगायत उल्लेख छ ।
यस्तै १ नम्बर प्रदेशलाई संसारकै नमूना, सुरक्षित र सुन्दर राज्य निर्माण गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै नयाँ शक्तिले राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्ने, सामन्त, दलाल, नोकरशाही पूँजीवादको अन्त्य गरी राष्ट्रिय पूँजीको विकास गर्ने जनाएको छ ।
नयाँ शक्ति नेपाल १ नम्बर प्रदेशका संयोजक राजेन्द्र किरातीले पुराना पार्टीहरुको अस्तित्व समाप्त पार्दै नयाँ शक्ति पार्टी आउँदा निर्वाचनमा राष्ट्रिय पार्टी हुने दाबी गरे ।