झापा/दमकमा स्थापित सवल नेपालको प्रस्तुतिमा सञ्चालित रमपम स्कुल ट्यालेन्ट हन्टमा नृत्यतर्फ मोरङ पथरीशनिश्चरेकी जयन्ती लिम्बु ग्राण्ड फिनालेमा पाइला राख्न सफल भएकी छिन् ।

पथरीशनिश्चरे–२ मा रहेको चिनारी अंग्रेजी बोर्डिङ स्कुलमा कक्षा–६ मा अध्ययनरत ११ वर्षीय जयन्ती पूर्वाञ्चलका विद्यालयहरुबाट सहभागीहरुलाई उछिन्दै ग्रान्ड फिनालेमा प्रवेश गरेकी हुन् । पथरीशनिश्चरे–३ नमस्ते टोलकी उनी सानैदेखि नृत्य गर्न औधी रुचि राख्ने छात्रा हुन् । बुबा प्रेमबहादुर लिम्बु र आमा प्रेमा लिम्बुको अथाह स्नेह र मायाले जयन्ती अहिले अध्ययन सँगसँगै नृत्यमा अब्बल दरिदै आइरहेकी छिन् ।

रमपम स्कुल ट्यालेन्ट हन्टको पहिलो अडिसन उनलाई यादगार छ । पहिलो पटक नृत्य प्रतियोगितामा सहभागिता जनाएकी उनले भनिन्–‘पहिलो पटक आफ्नै विद्यालयमा अडिसन दिएँ । त्यसपछि उर्लाबारी र दमकमा प्रतियोगी भएर ग्रान्ड फिनालेको यात्रा तय गरेँ । म एकदमै खुशी छु अब मैले फिनालेमा प्रथम हुन सबैको साथ सहयोगको अपेक्षा राखेकी छु ।’ प्रथम स्थान हत्याउन नै उनी अहिले दिनरात साधना गरिरहेकी छिन् । ‘विद्यालयमा जयन्ती एकदमै सोझी र आफ्नो दैनिकी पूरा गर्न कोसिसरत हुने छात्रा हुन्’ विद्यालयका प्रिन्सिपल गजेन्द्र लिम्बूले थपे–‘इमान्दारी र अध्ययनमा पनि एकदमै मेहनती छिन्, हामी उनलाई रमपम स्कुल ट्यालेन्ट हन्टको उपाधि जिताउन लागिपरेहेका छौं ।  दिदी ज्योति लिम्बुको नृत्य देखेर एक दिन म पनि यसरी नै नृत्य गर्छु भन्ने जयन्तीमा गढेको थियो । फलस्वरुप ट्यालेन्ट हन्टको नृत्यतर्फ फाइनल प्रवेश गरेका छिन् ।

विद्यालयमा भेटिएकी जयन्तीले दुई हात जोड्दै भनिन्–‘म यस पटक रमपम स्कुल ट्यालेन्ट हन्टको नृत्यतर्फ फिनालेमा प्रवेश गरेकी छु । मलाई भोट गरेर जिताउन हुन सबैमा अनुरोध गर्दछु ।’ उनले भोट गर्ने तरिका पनि भन्दै गइन्–‘फेसबुकमा गएर rumpum school talent hunt सर्च गरेर मेरो डिटेलमा गएर लाइक कमेन्ट गरिदिनु होला ।’ तेरिया मगरको नृत्यबाट प्रभावित उनको सो प्रतियोगितामा कन्टेस्टेन नं. ४८ रहेको छ । झापाको दमकमा कात्तिक २५ गते हुने ग्रान्ड फिनाले हुँदैछ । प्रतियोगितामा टप फाइभलाई पूर्वाञ्चलको विभिन्नत स्थानको भ्रमण, रोड सो र छात्रवृत्ति प्रदान गरिनेछ भने प्रथम हुने एक जनालाई रमपम चाउचाउको ब्राण्ड एम्बेसडर र एक वर्ष छात्रवृत्ति प्रदान गरिने आयोजक संस्थाका महासचिव भक्त श्रेष्ठले जानकारी दिए ।