युवा लेखक सुविन भट्टराई द्वारा लिखित चर्चित उपन्यास 'समर लभ'माथि आधारित भएर निर्माण भएको फिल्मको नेपाल छायांकन सकिएको छ । अब फिल्मका लिड नायक आशिष पिया (अतीत) आफ्नो प्रेमिका रेवती क्षेत्री (साया)लाई भेट्न नर्वे जानेछन् । फिल्मका निर्देशक मुस्कान ढकालले 'समर लभ'को ८५ प्रतिशत छायांकन सकिएको जानकारी दिए । उनले भने, 'एक महिनाभित्र फिल्मको बाँकी छायांकन हामी नर्वेबाट सुरु गर्नेछौं । अब नेपालमा एक गीतको मात्र छायांकन गर्न बाँकी छ । नर्वेबाट फर्किएपछि उक्त गीत खिच्ने तयारी छ ।' उनका अनुसार, नर्वेमा फिल्मको १० देखि १५ दिनसम्म छायांकन गरिनेछ । नर्वेमै साया र अतीतको एक लभ सङ पनि खिचिने उनले बताए । साया आफ्नो अध्ययनका लागि नर्वे पुगेकी हुन्छिन् र अतीत उनलाई भेट्नका लागि त्यहाँ पुगेका हुन्छन् । साया र अतीतको प्रेम र तड्पाईको कथा बोल्ने फिल्ममा सुस्मिताको भूमिका नायिका नम्रता सापकोटाले निर्वाहा गरेकी छिन् । अल्लारे पाठकले अत्याधिक रुचाएको उपन्यासबाटै सामीप्यराज तिमल्सेनाले पटकथा लेखेका हुन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको  ‘समर लभ’ मा किरणको भूमिकामा शिशिर भण्डारी, प्रतिक्षाको भूमिकामा अभिषा खनाल, अनुको भूमिकामा इन्दू भण्डारी र विद्याको भूमिकामा पुर्णिमा थापाले अभिनय गरेका छन् । पुष्पन प्रधानको संगीत रहेको फिल्मको संवाद भने लेखक सुबिन र सामीप्यले संयुक्त रूपमा तयार पारेका हुन् । फिल्मका कार्यकारी निर्माता विनोद अधिकारी छन् भने लगानीमा सपन सरकार, ईन्दु भण्डारी र मनु बिकले साझेदारी गरेका छन् ।