-
Home
-
अर्थ
-
धितोपत्र बोर्डले स्वीकृती दिए सपोर्ट माइक्रोको आईपीओ बुधबार बाँडफाँड हुने
धितोपत्र बोर्डले स्वीकृती दिए सपोर्ट माइक्रोको आईपीओ बुधबार बाँडफाँड हुने
- कार्तिक २१, २०७४
- ब्लाष्ट खबर
सपोर्ट माइक्रोफाईनान्स (SMFBL) को सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले माइक्रोफाइनान्सले जारी गरेको आइपीओ बुधबार बाँडफाँड गर्ने तयारी गरेको छ । धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेको क्यापिटलले बोर्डको अनुमति पाए बुधबार नभए विहीबार मात्र सेयर बाँडफाँड गर्ने जनाएको छ ।
लघुवित्तले असोज १८ देखि २३ गतेसम्म एक लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमध्ये दुई प्रतिशत अर्थात तीन हजार ६०० कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ९ हजार कित्ता आईपिओ सामुहिक लगानी कोषलाई छुट्याइएको थियो । एक लाख ६७ हजार ४०० कित्ता सेयर सर्वसाधारण लाई वितरण हुनेछ ।
साधारण सेयरमा २ लाख २६ हजार ९३२ जनाले दुई अर्ब २४ करोड ३२ लाख ६४ हजार १०० रुपैयाँको सेयर माग गरेका छन् । धितोपत्र बाँडफाँड नियमावली २०७४ अनुसार प्रत्येक आवेदकलाई १० कित्ता सेयरको दरले १६ हजार ७४० जना आवेदकलाई बाँडफाँड हुनेछ । बाँकी रहेका दुई लाख १० हजार १९२ जना आवेदकको हात खाली नै रहने निश्चित छ ।
विक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको तथ्याङ्कलाई आधार मानेर हेर्दा कुल आवेदकको ७.३८ प्रतिशत आवेदकले मात्र सेयर पाउनेछन् भने ९२.६२ प्रतिशत आवेदकले सेयर नपाउने भएका छन् ।
धितोपत्र बोर्डले सेयर आवेदनमा अनिवार्य आश्वा लागु गरेपछि आईपीओको सेयर बाँडफाँड २० दिनमै गर्न सकिने बताउँदै आएपनि सो लागू हुन सकेको छैन । क्यापिटलले भने धितोपत्र बोर्डले स्वीकृति नदिँदा आईपीओ जारी गरेको ४० औं दिनमा मात्रै बाँडफाँड गर्न लागेको हो । आश्वा प्रणाली अनिवार्य भईसकेको अवस्थामा बाँडफाँडको समायावधि समेत घटाउनुपर्ने सरोकारवालाले बताउँदै आएका छन् ।
सर्वसाधारणमा साधारण सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ । चार करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा ४८ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सपोर्ट माइक्रोफाइनान्स पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लालाई कार्यक्षेत्र बनाई २०७२ को साउनबाट औपचारिक रुपमा सञ्चालनमा आएको लघुवित्त हो ।