गाईघाट/ उदयपुरको पश्चिमी क्षेत्र कटारीबाट ओखलढुंगातर्फ यात्रु लिएर जाँदै गरेको टाटासुमो जीप सोमबार दिउँसो दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २ जना गम्भीर घाईते भएका छन्। सिद्धीचरण लोकमार्ग अन्तर्गत कटारी-वेतेनी-घुर्मी सडकखण्डको कटारी नगरपालिका ११ लेखानी ठाडीँमा ना.१.ज. ३४०४ नम्बरको जीप दिउँसो करीब १ :३० बजेको समयमा दुर्घटना भएको हो। दुर्घटनामा ७ जना पुरुष र १ महिलाको मृत्यु भएपनि सनाखत हुन सकेको छैन्। दुर्घटनामा गम्भिर घाईते भएका चालक कटारी नगरपालिका २ का २८ बर्षीय हरी कार्की र एक जना नामवतन नखुलेकी महिलालाई स्थानीयले उद्धार गरी कटारी अस्पतालमा पठाएको हिमाली यातायात व्यवसायी संघका उपमहासचिब शत्रुधन कार्कीले जानकारी दिए।चालकसहित ११ जना सवारत रहेको उक्त जीपमा ८ वर्षीय १ बालकलाई स्थानीयले सकुशल उद्धार गरिएको छ। जीप सडकबाट करीब ५ सय मिटर भिरमा खसेकाले मृतकहरुको शव भिरमा रहेकाले निकाल्न कठिनाई भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। उनले भने,'भीरमा हिडेर जान सक्ने अबश्था छैन्, शव भिरमा अडकिएको छ, निकाल्ने प्रयास भईरहेको छ, सकिएको छैन्।' उकालोमा तान्न नसके पछि पछाडी सर्दा भिरबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनास्थल कटारी बजारबाट ३५ किलामिटर उत्तरी भेगको कच्चि सडमा पर्दछ। दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीका डिएसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको एसपी भट्टले जानकारी दिए। यात्राको हिसावले उदयपुरको सबैभन्दा असुरक्षित सडक सोही सडकलाई मानिन्छ। उक्त सडकमा बर्षेनी सवारी दुर्घटना हुँदा एक दर्जन बढीको मृत्यु हुने गरेको संघका उपमहासचिब कार्कीको भनाई छ। कच्ची सडक त्यसमापनि क्षमताभन्दा बढी यात्रु सवारत, चालकले लापरवाही ढंगले ओभर स्पीड चलाउने र सडकको अबश्थापनि नाजुक भएका कारण बर्षेनी दुर्घटना हुने गरेको स्थानीयको भनाई छ।