विराटनगर/ दोस्रो चरण मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको लागि मोरङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ ।

मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय रहने स्थान मंगलबार तोकेको हो ।  क्षेत्रिय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलका अनुसार मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ६ को कार्यालय विराटनगरको वीरेन्द्र सभा गृहलाई तोकेको छ । त्यस्तै निर्वाचन अधिकृत प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय विराटनगर ७ मा रहेको जनता आवास परियोजना, क्षेत्र नम्बर २ को विराटनगरमा रहेको शैक्षि तालिमकेन्द्र, निर्वाचन क्षेत्र नम्बर ३ को डिभिजन सडक कार्यालय, निर्वाचन क्षेत्र नम्बर ४ को जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय र निर्वाचन क्षेत्र नम्बर ५ को क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरलाई तोकेको निर्वाचन कार्यालयले जनाएको छ । तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले उम्मेदवारी दर्ता गर्न पाउनेछन् ।

तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयको औपचारीक उद्घाटन आउँदो बिहीबार हुने सञ्जेलले जानकारी दिए । निर्वाचन आयोगले यस अघि नै मुख्य निर्वाचन अधिकृत र निर्वाच अधिकृतहरु भने तोकिसकेको छ । मोरङको मुख्य निर्वाचन अधिकृतमा मोरङ जिल्ला अदालतका जिल्ला न्यायधीस राजकुमार खतिवडालाई आयोगले तोकेको हो । त्यस्तै १ नम्बर निर्वाचन क्षेत्रमा जीवन कुमार भण्डारी, २ नम्बर निर्वाचन क्षेत्रमा टंकबहादुर महत, ३ नम्बर निर्वाचन क्षेत्रमा बिकास श्रेष्ठ, ४ नम्बर निर्वाचन क्षेत्रमा इश्वरमणि ओझा, ५ नम्बर निर्वाचन क्षेत्रमा कृष्णमोहन कोइराला र ६ नम्बर निर्वाचन क्षेत्रमा राजकुमार खतिवडालाई तोकेको छ ।

देशकै सबैभन्दा बढी मतदाता रहेको मोरङ जिल्लामा मतदान केन्द्र बढे पनि मतदान स्थल भने बढेको छैन । प्रतिनीधि र प्रदेश सभाको निर्वाचनको लागि मोरङमा ८९ वटा मतदान केन्द्र बढेको क्षेत्रिय निर्वाचन अधिकारी सञ्जेलले जानकारी दिए । गएको असारमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा मतदाता बढी भएकोले मतदान केन्द्रमा साझसम्म मतदान भइरहेको हुनाले त्यसलाई मध्यनजर राख्दै मतदान केन्द्र बढाएको उनले बताए । मोरङमा अब ७ सय ५८ वटा मतदान केन्द्र, ३ सय वटा मतदान स्थल रहनेछ । यस अघि स्थानिय तहको निर्वाचनमा ६ सय ६९ वटा मतदान केन्द्र थियो भने मतदान स्थल ३ सय नै रहेको थियो ।

मोरङमा देशकै सबैभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८३ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।