एभरेष्ट बैंकले लिलामी राखेको ३५,८४१ कित्ता शेयर बोलकबोलबाट बिक्री भएको छ । यसअघिको लिलामीमा एक सय रुपैयाँमा पनि नबिकेको शेयर बैंकले पुनः लिलामी गर्दा भने बजारमूल्य भन्दा केही कम मूल्यमानै सबै बिक्री भएको छ । हाल दोस्रो बजारमा १२२० रुपैयाँको हाराहारीमा कारोबोर भईरहेको एभरेष्टको लिलामीको सेयर न्यूनतम ११५१ रुपैयाँ कबोल्ने लगानीकर्ताले हात पारेका छन् । ३५,८४१ कित्ता सेयरका लागि ३१७२ आवेदकले बोलपत्र पेश गरेका थिए । यसअघिको लिलामीमा १३०० सय रुपैयाँसम्म उच्च मूल्य कबुलेर सेयर कबोल गर्नेहरु समेत देखिएका थिए । तर यसपालि भने उच्चतम १२०४ रुपैयाँसम्ममा सेयर कबोल गरिएको बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ । यसअघिको लिलामीमा केही लगानीकर्ताले एभरेष्ट बैंकको सेयर सय रुपैयाँमै हात पारेका थिए । यसपालि पनि केही लगानीकर्ताले सय रुपैयाँकै आसपासको मूल्य राखेर सेयर माग गरेका थिए । तर ११५१ रुपैयाँ भन्दा कम मूल्य राख्ने लगानीकर्ताले यसपालिको लिलामीमा सेयर हात पार्न सकेनन् । बैंकले यसअघि २ लाख ५३ हजार कित्ता शेयर लिलामी गर्दा आवेदन नपरेको ३५,८४१ कित्ता शेयर बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको थियो । एभरेष्टको चुक्ता पुँजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार रुपैयाँ छ ।सेयर लिलामी गरिसकेपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपैयाँ पुग्नेछ । गत आर्थिक बर्षमा बैंकले १ अर्ब ९८ करोड १६ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। एभरेष्टको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ९९ पैसा छ ।