काठमाडौं/गुठी संस्थान प्रधान कार्यालयले तीन वर्षीय बालिकालाई नयाँ जीवित देवी कुमारीको घोषणा गरेको छ । असनकी तृष्णा शाक्यलाई नयाँ कुमारीको रुपमा मंगलबार घोषीत गरिएको हो । तृष्णा मञ्जुश्री नकमहा विहारका विजयरत्न शाक्य र सिर्जना शाक्यकी छोरी हुन् । नयाँ कुमारीलाई सोही दिननै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गराइएको छ ।

गुठी संस्थान, तलेजुभवानी मन्दिरका मूल पुजारी, राजगुरु, कुमारीघरका चिताहदार, राजज्योतिषी, शाक्य महाविहार संघलगायतका प्रतिनिधिहरुले नयाँ कुमारीको घोषणा गरेका हुन् । तलेजु मन्दिरका मुख्य पूजारी उद्धवमान कर्माचार्यले राष्ट्रपति भवन शीतल निवासमा धार्मिक परम्पराअनुसार गोयदान गरी नयाँ कुमारीलाई राष्ट्रपतिसँग परिचय गराइएको बताए ।

त्यसैगरी, महाअष्टमीका दिन तलेजु भवानीको मन्दिरमा बज्रयानी र तन्त्र परम्पराअनुसार पूजा गरी नयाँ कुमारीलाई विधिवत्रुपमा स्थापित गरिने उद्धवमान कर्माचार्यले बताए ।  त्यसपछि नयाँ कुमारीलाई कुमारीघरमा रहेको नौ ग्रहमाथि रहेको मयूर स्वर्ण्सिंहासनमा राखी पूजा गरिनेछ । सो पूजा पश्चात वर्तमान कुमारीलाई बिदा गरिने नियम रहेको छ ।

वर्तमान कुमारीको उमेर हदका कारण प्रतिस्थापन गर्न आवश्यक देखिएको भन्दै गुठी संस्थानले नयाँ कुमारीको छनोट गरेको जनाइएको छ ।

newslaya