विर्तामोड । नारी सञ्चार गृह झापाले पत्रकारिता पेशामा रहेर पेशागत मान्यतालाई आत्मसात गर्दै क्रियाशील पत्रकार महिलालाई सम्मान गर्ने उद्देश्यले १ लाखको अक्षय कोषको स्थापना गरिने जनाएको छ । गृहले शनिबार नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न साधारणसभामा प्रतिवेदन मार्फत यस्तो सार्वजानिक गरेको हो । महासंघका अध्यक्ष तारामणि सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार महासंघ झापाको कार्यसमितिमा निर्वाचित हुने संस्थाका सदस्यहरु भीमा शिवाकोटी, शुशीला संग्रौला, सुष्मा राजवंशी र केन्द्रीय पार्षदमा विजयी हुने अम्बिका भण्डारी, रेजिना रोदन, इन्दू पूर्वेली, स्वस्तिका आचार्यलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनाली, यलम्बर टाइम्सका सम्पादक दिपिन राई, पत्रकार महासंघकी उपाध्यक्ष भीमा शिवाकोटी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

अध्यक्ष सावित्रा दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सचिव अम्बिका भण्डारीले सञ्चालन गरेकी थिइन् भने संस्थाकी सदस्य इन्दू पूर्वेलीले स्वागत गरेकी थिइन् । साधारणसभाले आगामी कार्तिकभित्रमा संस्थाको दोस्रो अधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ । जिल्लाभर रहेका सञ्चार संस्थामा आवद्ध पत्रकार महिलाहरु संगठित भएर २०६९ सालमा यो संस्थाको स्थापना गरिएको थियो ।