तेह्रथुम/कृषि क्षेत्रसँग सम्बन्धित सवाल र गतिविधिहरुलाई प्राथमिकताका साथ समाचारको विषय वस्तु बनाउने तेह्रथुमका सन्चारकर्मीहरुले प्रतिबद्धता जनाएका छन् ।

जिल्लामा रहेका अलैँची, अदुवा, दुध र चियासँग सम्बन्धित सवालहरु प्राथमिकताका साथ समाचारको विषय वस्तु बनाउने सदरमुकाम म्याङलुङ्गमा आयोजित एक कार्यक्रममा पत्रकारहरुले बताएका हुन । जिल्लाको मुख्य उत्पादनको रुपमा रहेको अलैँची, अदुवा र चिया खेती तथा किसानको दैनिकीसँग जोडिएको दुध र दुग्धजन्य बस्तुको गुणस्तरीय उत्पादन, बजारीकरण र प्रवर्धनका लागि पत्रकारहरुले खोज तथा विश्लेषणात्मक समाचार संकलन र सम्प्रेषण गर्ने बताए ।

कार्यक्रममा सन्चारकर्मीले जिल्लाको अर्थतन्त्रमा महत्वपुर्ण हिस्सा राख्ने यी उत्पादनको गुणस्तरीय उत्पादन र बजारीकरणमा ध्यान दिए समृद्धिका आधार बन्न सक्ने बारे छलफल गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले खोज तथा विश्लेषणात्मक समाचार बनाउनका लागि पत्रकारहरुलाई अनुरोध गरे । कार्यक्रममा खोज पत्रकारिताको महत्व, खोज गर्ने विषयवस्तुको पहिचान, समाचार संकलन, लेखन लगायत विषयमा कार्यक्रममा छलफल भएको पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुङ्गानाले बताए ।

कार्यक्रममा सहभागी सन्चारकर्मीलाई अध्यक्ष झाले कृषिजन्य वस्तुहरु नै यहाँको पहिचान भएको बताउँदै यी वस्तुहरुको प्रवद्र्धन गरेर जिल्लाको पहिचान बनाउनका लागि भूमिका निर्वाह गर्न सल्लाह दिए । झाले अलैँची, अदुवा, चिया र दुधको उत्पादनको अवस्था, समस्या, किसानका कुरा, मजदुरका कुरा, उत्पादन गर्ने किसानको अवस्था, बजारीकरणका समस्या, राज्यले गरिरहेको वेवास्ता लगायतका बारेका समाचारहरु बनाउनु पर्ने बताए । जिल्लाका सन्चार माध्यमलाई त्यस्ता वस्तुहरुको प्रवद्र्धन गरेर जिल्लाकै पहिचानको रुपमा स्थापित गर्नु पर्ने अध्यक्ष झाले बताए ।

अन्तर्रािष्ट्रय श्रम संगठन (आइएलओ) को सहयोगमा उन्नति परियोजना अन्तर्गत समृद्ध तेह्रथुमका लागि अभियान नामक संस्थाले आयोजना गरेको कार्यक्रममा जिल्लाका ४० जना बढी सन्चारकर्मीहरु सहभागी थिए । संस्थाले जिल्लामा रेडियो तेह्रथुम ९२.४ मेघाहर्ज समेत सन्चालन गर्दै आएको छ । आइएलओको सहयोगमा सन्चालित उन्नती परियोजनाले तेह्रथुमसहित पुर्वका सात जिल्लामा अलैँची, अदुवा, चिया र दुधका क्षेत्रमा काम गरिरहेको छ । जिल्लामा अलैँची, अदुवा, चिया र दुग्ध उत्पादनसँग सम्बन्धित सवालहरुको बहस र पैरवी गर्दै समाधानको बाटो खोज्न काम गरिरहेको समृद्ध तेह्रथुमका लागि अभियानका कार्यक्रम संयोजक लक्ष्मीनारायण मिश्रले बताए । कार्यक्रम समृद्धि तेह्रथुमका लागि अभियानका अध्यक्ष महेन्द्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।