धरान/बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान कर्मचारी कल्याण समाजले शुक्रबार बिहान गरेको तालाबन्दी प्रहरी र केटिएम सेक्युरिटीले तोडेको छ । तालाबन्दी तोडेपछि प्रतिष्ठान केही क्षण तनावग्रस्त बनेको छ ।
धरान एकता समाज, आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्, धरान–१८ का वडा अध्यक्ष, एक्सन धरान र सामुदायिक प्रहरीले चर्को दवाव सिर्जना गरेपछि धरान प्रहरी र सेक्युरिटीले ताला दुईघण्टा नबित्दै तोडेको हो । समाजले प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार, रजिष्टार तुलबहादुर श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. गौरीसंकर अग्रवाल, शिक्षाध्यक्ष प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठको कार्याकक्षमा तालाबन्दी गरेका थिए ।
समाजले केही दिन यतादेखि तवल वृद्धि गर्नुपर्ने, प्रतिष्ठानमा हुने गरेको भ्रष्टचार अन्त्य गरिनु पर्नेलगायतको माग राखेर आन्दोलन जारी राखेको छ । आन्दोलनबाट निकास ननिस्किएको भन्दै समाजका अध्यक्ष सुजेन्द्र गोलेसहितले तालाबन्दी गरेका थिए । तालाबन्दी गरेको केही घण्टा बित्न नपाउँदै विभिन्न संस्थाहरुले दवाव सिर्जना गरेका थिए ।
धरान एकता समाजबाट संरक्षक सन्दीप श्रेष्ठ, आदिवासीबाट अध्यक्ष सुवासचन्द्र हुक्पा चोङबाङ, पूर्व अध्यक्ष चित्रराज थापामगर, वडा नम्बर १८ का अध्यक्ष प्रविण राई, एक्सन धरानका युवाहरुलगायतले ताला तोड्नको लागि दवाव सिर्जना गरेका थिए । वडा अध्यक्ष प्रविण राईले भने, ‘ताला लगाउनु हुन्न, हाम्रो चाहाना भरसक आन्दोलन पनि नहोस्, वार्ताको टेवलमा आएर समस्याको समाधान हुनुपर्छ ।’
उनले प्रतिष्ठानमा ताला लाग्नु हुँदैन, अनाहकमा विरामीहरुलाई दुःख दिने कार्य गर्न नहुने बताए । यता ताला तोडेको केही समय नबित्दै पुनः कर्मचारी कल्याण समाजले तालाबन्दी गर्दै कसैले ताला तोडे अनिश्चितकालीन आमहड्ताल गर्ने धम्की दिएको छ । यसैबीच प्रतिष्ठानकै अर्को कर्मचारी कल्याण समाज तदर्थ समितिका अध्यक्ष राजन कोइरालाले एक विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेर समस्याको समाधान नहुने तर्क राखेको छ ।