शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिले न्याय सम्पादन कार्यलाई प्रभावकारी बनाउने योजना अनुसार गाउँघरमै गएर स्थानीयको गुनासो सुन्ने अभियान सुरू गरेको छ ।

नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्टको अगुवाईमा पहिलो पटक नगरको वडा नम्बर ४, ७, ८ र ९ का वासिन्दाको गुनासो सुन्न विहीवार शनिश्चरेमा ‘गुनासो सुनुवाई’ कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा, न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मा, दुर्गाप्रसाद सिटौलाका साथै सम्बन्धित वडाका वडाध्यक्ष, सदस्य सहित स्थानीयको उत्सुकतापूर्वकको उपस्थिती रहेको थियो । कार्यक्रममा सामाजिक न्याय, नीति तथा कार्यक्रम र सार्वजनिक सेवा सम्बन्धि जनअपेक्षाका सम्बन्धमा गुनासो माग गरिएको थियो । जसअन्तर्गत, वसोवासको समस्या समाधान गर्न, ९ नम्वर वडामा धिमालग्रामथानको विवाद मिलाउन, नगरपालिका कार्यालयलाई पहिलेको योजना अनुरूप व्यवस्थापन गर्न, कर्मचारी सहित वडाध्यक्षहरूको कामको प्रभावकारिता बढाउनतर्फ ध्यानदिनुपर्ने सेवाग्राहीले सुझाव सहितको गुनासो राखेका छन् ।

त्यस्तै, शिक्षा, कृषि, महिला, दलित क्षेत्रमा बजेटलाई प्रभावकारी व्यवस्थापन गर्न, स्वास्थ्य स्वयमसेविकाको जिविकोपाजर्नमा मद्धत पुर्याउन, ज्येष्ठ नागरिकको भत्ता दशैं अघि नै वितरण गर्न लगायतका मागजन्य गुनासो प्रस्तुत भएको छ । ती गुनासा एवम् मागहरू उपर न्यायिक समितिले सम्बन्धित वडाध्यक्ष र वडासदस्यहरू राखेर छलफल गराई उचित सम्बोधन गरिने समिति संयोजक विष्टले जनाइन् । १० वटा वडा रहेको नगरमा प्रत्येक ३,३ महिनामा पालैपालो वडाह?मा यसखाले कार्यक्रम राखिने समितिको योजना रहेको नगरपाकिलाका प्रवक्ता याम गुरागाईले बताएका छन् ।

समितिले ३ महिनाकौ अवधिमा १४ वटा मुद्धा किनारा लगाएको छ ।