शनिश्चरे/झापा र मोरङमा रहेका भूटानी शरणार्थीहरूले आफूहरूलाई राशन नपुगेको भन्दै आन्दोलन गरिरहेको अवस्थामा झापाको दमकस्थित बेलडाँगी शिविरमा पानीले भिजेर ५ मेट्रिक टन भन्दा वढी चामल नष्ट भएको छ ।

विश्व खाद्य कार्यक्रम अन्तर्गत शरणार्थीका लागि राहतका रुपमा उपलब्ध हुने चामल गत असारको अन्तिम साताको अविरल वर्षाका कारण गोदामको छाना उडाउँदा भिजेको थियो । सो चामल यसबेला फ्याकिएको छ । भिजेका कारण ५ हजार ७ सय ९१ केजी चामल कुहिएर नष्ट भएपछि नष्ट गर्न वाद्यय भएको विश्व खाद्य कार्यक्रमकी सूचना तथा संचार प्रमुख शीताष्मा थापाले बताइन् । उनले बेलडाँगी १ मा भिजेको अवस्थाको चामल रहेको गोदाम हात्तीले भत्काएर अझ नष्ट पारेपछि चामल कुहिन थाल्दा फ्याक्नु परेको जनाइन् ।

कुहिएको चामललाई विश्व खाद्य कार्यक्रम, शरणार्थी शिविर व्यवस्थापन समितिको टोलीले गोदाम नजिकै खाल्डोे खनेर पुरिएको शिविर व्यवस्थापन समितिका सचिव टीकाराम रसाइलीले बताए । उनले शरणार्थीमा खाद्यान्ह अभाव भइरहेको र दशैंको यस अवस्थामा यसरी चामल फाल्नु पर्ने अवस्था आउनु दुःखद कुरा भएको समेत जनाए ।