ताप्लेजुङ । ताप्लेजुङ्को मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकालाई जोड्ने पक्की पुल बनेपछि जिल्लाका तीन गाउँपालिकासहित तेह्रथुम, संखुवासभा र धरानसम्म यात्रा गर्न सहज हुने भएको छ । निर्माण शुरु भएको छ वर्षपछि दोभान बजार नजिकै पर्ने मैवाखोलामा मोटर चल्ने पुल बनेको हो ।
पुल बनेसँगै जिल्लाको दोस्रो ठूलो बजार दोभानबाट अब सीधै यातायातका साधनबाटै सामान ढुवानी गर्न सहज हुने स्थानीयवासीको भनाइ छ ।
यसअघि पुल नबन्दा दोभान बजारबाट साविकका चाँगे, साँघु, ढुंगेसाँघु, हाङ्पाङ, फूलबारी, निगुरादिन, थिङ्लाबु र फाकुम्बा गाविसका बासिन्दाले भरिया र खच्चरको प्रयोग गरेर सामान ढुवानी गर्दै आएका थिए । अब त्यो बाध्यता हट्ने स्थानीयवासीको अपेक्षा छ । स्थानीयवासी लोकेन्द्र अधिकारीले मैवाखोलामा पुल बनेपछि सवारी साधन नियमित चल्ने अपेक्षा गर्दै खुशी व्यक्त गरे ।
विसं २०६८ मा निर्माण शुरु भएको पुल चार करोडको लागतमा सेवालुङ निर्माण सेवा प्रालिले बनाएको हो । पुलको लम्बाइ ३६.४० मि छ । पुलको अनुगमन गर्ने उत्तर(दक्षिण दोभान ओलाङ्चुङ्गोला सडक आयोजनाका प्रमुख कुबेर नेपालीले बताए ।
चीन र भारतलाई जोड्ने छोटो मार्गका रुपमा हाल निर्माण भइरहेको तमोर करिडोरका साथै कोशी राजमार्ग धरान, धनकुटा मूलघाट, वसन्तपुर हुँदै संखुवासभाको गुफापोखरी, ताप्लेजुङ सडक पनि यही पुलमा जोडिने भएकाले यसलाई निकै महत्वपूर्ण रुपमा हेरिएको नेपालीको भनाइ छ ।