मोरङ । मोरङको बेलबारी र केराबारीका बाढीपीडितहरुको पुर्नस्थापना नभएपछि करिब १ महिनादेखि बिद्यालयमा बस्न बाध्य भएका छन । केराबारी गाँउपालिका र बेलबारी नगरपालिकाको सीमानामा रहेको शहिद स्मृति प्राथमिक बिद्यालयका बेलबारीका २ परिवार र केराबारीका ५ परिवार आश्रय लिएर बसेका हुन् ।
लोहन्द्रा खोलामा आएको बाढीले घरबारबिहिन बनेका उनीहरु यतिबेला पुर्नस्थापनाको आशमा रहेका छन् । उनीहरुले खाने कुराको अभाव नभएपनि बासको अभाव भएको र बिद्यालयले समेत अब बासको ब्यबस्था आफै गर्नु भन्न थालेपछि चिन्तामा डुबेको गुनासो गरेका छन् । ५ जनाको परिवार सहित बिद्यालयमा आश्रय लिएर बस्दै आएकी गीता दुलाले आफुहरुलाई बस्ने बासको ब्यबस्था गरिदिन माग गरिन । उनले खाने कुराको सामान्य जोहो भएपनि बास बस्ने ठाँउ नपाउँदा समस्या भएको बताईन । बिद्यालयमा बसोबास गरिरहेका अधिकांश बालबालिकाहरु बिरामी समेत पर्न थालेका छन ।
बाढीपीडितहरुको समस्या बुझन अनुगमनमा गएका बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली र वडा नम्बर २ का वडाअध्यक्ष घनश्याम गौतमले केराबारी नगरपालिका सँग समेत समन्वय गरी चाँडै पुर्नस्थापना गरिने बताए ।
बाढीका कारण बेलबारीमा कुनै मानविय क्षति नभएपनि दर्जनौ परिवार बिस्थापित हुनुका साथै आधादर्जन बढी परिवार घरबारबिहिन भएका छन । बेलबारीका वडा नम्बर १,२,३,लगायतका वडाहरुमा २० औँ बिगाह खेतियोग्य जमिन बगाएको छ भने खोला नियन्त्रणका लागी स्थानीयले अस्थायी बाँध निर्माण गरिरहेका छन् ।