भद्रपुर । झापाका बाढीपीडित किसानलाई सरकारले १२ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएकी कृषिराज्य मन्त्री सरिता प्रसाईले पीडित किसानलाई राहतस्वरुप सो रकम दिन लागिएको बताइन् । साउन अन्तिम साता आएको बाढीले झापाको कृषिबालीमा ठूलो नोक्सान गरेको थियो । जिल्ला कृषि विकास कार्यालयका अनुसार बाढीका कारण झापामा एक अर्व छ करोड ८८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बाढीबाट सात हजार दुई सय ६६ हेक्टर जग्गामा लगाइएको बालीमा क्षति पुगेको कार्यालयको प्रारम्भिक तथ्याङ्क छ । झापाको दमकमा पत्रकारसँग कुरा गर्दै कृषिराज्य मन्त्री प्रसाईले स्थानीय किसानलाई सहयोग पुग्ने गरी झापाका ग्रामीण १० वटा बजारलाई कृषि बजारका रुपमा विकास गर्ने योजना सुनाइन्् । अध्ययनका लागि कृषि मन्त्रालयबाट प्राविधिक टोली परिचालनको तयारी भइरहेको बुझिएको छ ।