भद्रपुर। बाइस थान मानव खप्परसहित प्रहरीले झापाको काँकडभिट्टाबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका–८ निवासी ५२ वर्षीय सोम तामाङ रहेका छन् । उनलाई प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालयको गेट अगाडिबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतबाट नेपालतर्फ रिक्सामा लुकाएर मानव खप्पर ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी विष्णुकुमार केसीले जानकारी दिए । पक्राउ परेका तामाङले बौद्ध धर्मले बजाउने बाजाको प्रयोगका लागि काभ्रे लगेको बताएको एसपी केसीले जनाए । पक्राउ परेका तामाङलाई इप्रका काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ । छुट्टै कानून नभएकोले सार्वजानिक मुद्दा चलाइने प्रहरीको भनाइ छ ।