पाँचथर/ जिल्लाको फाल्गुनन्द गाउँपालिका–३, गुम्बाडाँडामा प्राथमिक उपचार सम्बन्धि चार दिने तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रश सोसाइटी पाँचथर शाखाले सञ्चालन गर्दै आएको रेस टू कार्यक्रम अन्तर्गत साविक पौवासारताप–३ र ९ नम्बर वडाका २४ जनालाई तालिम दिइएको हो ।
तालिममा सहभागिलाई कुनै कारणले घाउ, चोटपटक लागेको बिरामीलाई दक्ष स्वास्यकर्मीकहाँ पुर्याउँनु अघि स्थानीय स्रोत–साधनको प्रयोग गरी प्राथमिक उपचार गर्ने बिधि सिकाइएको थियो । तालिमको सहजीकरण प्रशिक्षक रमा चापागाईँ र गोविन्द शिवाकोटि र एमनाथ नेपालले गरेका थिए ।
तालिमको समापन समारोहमा बोल्दै नेपाल रेडक्रश सोसाइटी पाँचथर शाखा उपसभापति छेतिलाल ठाकुरले तालिममा प्राप्त गरेको ज्ञान र सिपलाई आफ्नो समुदायमा गई व्यवहारमा लागु गर्न सहभागिलाई आग्रह गरे । समापन समारोहमा नेपाल रेडक्रश सोसाइटी पाँचथरका कोषाध्यक्ष कृष्णमाया बुढाथोकी, सदस्य लुना ढुंगाना, आनन्द बाँस्कोटा, राँके उपशाखा सभापति राजेन्द्र फुँयाल लगायतको उपस्थिति रहेको रेस टू कार्यक्रमका कार्यक्रम अधिकृत विश्वप्रकाश अर्यालले बताए ।