झापा । निर्माण सम्पन्न भएको दश वर्षसम्म पुर्वका दुइवटा सडक जस्ताको तस्तै रहेको पाइएको छ । मोरङको उर्लाबारी – आमवाडी र झापाको पाडाजुँगी– गौरीगन्ज सडक मजबुद रहेको पाइएको हो । निर्माण सम्पन्न भएको वर्षएक वर्ष नपुग्दै भत्किन्छ भन्ने आमधारणालाई यी सडकले गलत सावित गरिदिएका छन् । पूर्वका यी सडकले स्थानीयको मन जितेका छन् । मान्यतालाई नै गलत सावित गरेर नमुना बनेका छन् । अरूतिर बनाउनासाथ खाल्डो पर्ने, भत्किने, कालोपत्रे उप्किने जस्तो समस्या भएपनि १० वर्षअघि बनाएर छाडेको सडक अहिले पनि उस्तै रहेको स्थानीय सत्यनारायण साह बताउँछन् । राम्रो सडक बनाउन चाहँदा बन्ने यो सडकले प्रमाणित गरेको उनको भनाइ छ ।
सिजुवाकी उषा ढुंगानालाई कक्षा ६ मा पढ्दा देखेको र हिँडेको सडक अहिले पनि उत्तिकै नयाँ लागेको बताउँछिन् । कतै नभत्किएको तथा राम्रो अवस्थामा चालु देखिनुले सडक दह्रो बनेको रहेछ भन्ने प्रमाणित भएको ढुंगाना बताउँछिन् ।
एसियाली विकास बैंक (एडीबी)को सहयोगमा रोड नेटवर्क डेभलपमेन्ट प्रोजेक्ट (आरएनडीपी)ले १० वर्षअघि निर्माण गरेको सडकको विषयमा उपभोक्ताले गुनासो गरेका छैनन् । बरु सडकलाई माया गर्ने संस्कारका कारण एक दशकपछि पनि मजबुत देखिन्छ । विराटनगरलाई हुलाकी मार्ग भएर पुरानो सदरमुकाम रंगेली, आमवाडी हुँदै उर्लाबारी र झापासम्म जोड्न यो सडक महत्वपूर्ण मानिन्छ ।