इलाम । इलामको सन्दकपुर गाउँपालिका ५ र ३ बीच माइखोलामा रहेको पुल भत्किँदा यातायात अवरुद्ध भएको छ । काठले बनाइएको पुलमा गाडी तर्ने क्रममा पुल भत्किएको हो । जमुना र सुलुवुङबीचको पुल भत्किएपछि त्यस क्षेत्रका बासिन्दालाई सदरमुकाम आउजाउ गर्न समस्या भएको छ ।
वर्षौंदेखि काठको पुलबाट गाडी तर्दै आएकाले काठ मक्किएर पुल ढल्किएको छ । सत्र वर्षदेखि जोखिमयुक्त पुलबाट दैनिक १० वटाभन्दा धेरै सवारी साधन आवागमन हुँदै आएको थियो ।
सुलुबुङ, जमुना, मावु र प्याङका बासिन्दालाई सेवा दिँदै आएको कच्ची पुलको विकल्पमा नयाँ पुल निर्माण हुने पक्का भए पनि काम शुरु भएको छैन । जिल्लामा वर्षौं अघि थालिएका कतिपय पुल पनि नसकिएकाले स्थानीयवासीले छिटो पुल निर्माण गरिदिन ठेकेदारलाई आग्रह गरेका छन् । नयाँ पुल नबनेसम्म फलामको सत्तरी प्रयोग गरेर अस्थायी पुल बनाउन जिल्ला समन्वय समितिले ठेकेदारलाई जिम्मा दिएको छ । स्थानीय रमेश भट्टराईले काठको मुढा मकाउँदा गाडीको भार थेग्न नसकेर पुल बिग्रिएको हो बताए । नयाँ पुल निर्माण नभएसम्मका लागि मजबुत अस्थायी पुल बनाउने जिम्मेवारी हाम्रो भएको निर्माणको जिम्मा पाएका सुवास चिपालुले बताए ।
महमाईमा डुंगा दुर्घटना भएपछि जिल्ला प्रशासनले स्थलगत अनुगमन गर्दै तत्काल काठेपुलको विकल्प खोज्न सरोकारवालालाई निर्देशन दिएको थियो । स्थानीयवासीले खोलाको दुवैतर्फ पर्खाल लगाएर काठको मुढा तेस्याउँदै सवारी साधन आउजाउ गर्ने व्यवस्था मिलाएका थिए । माग गरेको लामो समयपछि योपटक भने पुल बन्ने पक्का भएको हो ।
स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत रु तीन करोड पाँच लाखको लागतमा पुल बन्ने भएको छ । खोला वारिपारि दुवैतर्फको करिब एक सय मिटर एप्रोज रोड पनि बन्ने जिल्ला समन्वय समितिले जनाएको छ ।