भद्रपुर । विगत एक महिनादेखि स्थानीयको चौपाया खाएर हैरान बनाएको चितुवालाई आइबतार स्थानीयले पासोमा पारेका छन् । झापाको गौरादह– ९ बैगुनधुरामा भेटिएको चितुवालाइ पासोमा पारी आइतवार जामुनबारी समुदायिक वनलाई बुझाइएको छ । गौरादह– ९ का वडा अध्यक्ष सीताराम भट्टराईका अनुसार स्थानीयले वडा कार्यालयमा उजुरी गरेपछि चितुवालाई नियन्त्रणमा लिन प्रयास गरिएको बताए । हामीले प्रयास गरेपनि सम्भव नभएपछि स्थानीय सन्थाल युवाहरूले पासोमा पारेको उनले बताए । सुरुमा एउटा बाख्रा खाँदा आफूहरूले समान्य रूपमा लिएको उनले बताए । तर थप घरपालुवा जनावर खान थालेपछि जिल्ला वन अधिकृत, प्रमुख जिल्ला अधिकारीसँगको समन्वयले नियन्त्रणमा लिन सफल भएको जनाए । चितुवाले हालसम्म गाउँका १२ वटा बाख्रा, तीनवटा कुकुर र चारवटा बाछासमेत खाइसकेको बताइएको छ । चितुवालाई जिल्ला वन कार्यालय झापाको सहयोगमा जामुनखाडीमा रहेको वन्यजन्तु संरक्षण स्थलमा लगेर राखिएको जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले बताए । तत्कालका लागि हामीले जामुनखाडी सामुदायिक वनको वन्यजन्तु संरक्षण स्थलमा राख्ने र चितुवा वनले नै राख्न चाहे पनि पाउने सुवेदीको भनाइ छ । पछिल्लो समय पहाडतिर मान्छेले छाड्न थालेदेखि चितुवा बढ्द गएकोले वनले नै राख्न चाहने बारे विभागमा कुरा गरिरहेको उनले बताए । वनले राखेमा पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनको भनाइ छ । वनले चितुवा राख्ने खोरचाहिँ राम्रो बनाउनुपर्ने उनले बताए । नियन्त्रणमा लिइएको भाले चितुवा करिब ५० देखि ६० किलोको रहेको सुवेदीले बताए । बाढीका कारण मोरङबाट आएको हुन सक्ने उनले अनुमान गरेका छन् । पासोमा पारिएको भए पनि चितुवामा कुनै चोट पटक नरहेको सुवेदीले जानकारी दिए ।