पाँचथर/ लिम्बू जातिको साझा सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको २९ औं स्थापना दिवश चुम्लुङ पाँचथर शाखाले पनि शनिबार विविध कार्यक्रम गरी मनाएको छ ।

[caption id="attachment_54658" align="alignnone" width="800"] फोटो : चुम्लुङहीम अगाडिको चाउरमा च्याब्रुङ नाच प्रस्तुत गर्दै कलाकार । तस्विर : सन्देश सुब्बा[/caption]

फिदिम बजारको शनिबारे स्थित चुम्लुङहीममा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि चुम्लुङका केन्द्रीय उपाध्यक्ष मलिशा याक्थुङ्बा, बिशेष अतिथि वरिष्ठ संरक्षक सदस्य राजेन्द्र कुमार जवेगु र पूर्व केन्द्रीय सचिव नरेन्द्र कुमार केरुङले संयुक्त रुपमा पक्लुङ (छेलो) हानेर गरेका थिए । २९ औं स्थापना दिवशको अवशरमा शाखाले जिल्लामा रहेर भाषा–साहित्य र सँस्कृतिको क्षेत्रमा योगदान दिने दीलेन्द्र कुरुम्बाङ र पत्रकार कबिन्द्र शेर्मालाई सम्मान गरेको छ । दुुबै जनालाई कार्यक्रमका प्रमुख अतिथि याक्थुङ्बाले सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सोही अवशरमा चुम्लुङले स्थापना गरेको याक्थुङ सहयोग कोषबाट प्राप्त बिद्यार्थी प्रोत्साहन छात्रवृति समेत वितरण गरिएको छ । उक्त छात्रवृति जिल्लाको गुहेश्वरी आधारभूत विद्यालय स्याबरुम्बाकी फूलकुमारी चेम्जोङ, नांगीन आधारभूत विद्यायलयका किरण मेयोङबा, सरस्वती मावि मेमेङकी लीला साँवा र जनकल्याण मावि फाक्तेपका निर्दोष चेम्जोङलाई जनही दुई–दुई हजार रुपैंयाँ प्रदान गरिएको थियो । यसै गरी चुम्लुङ इजरायलले उपलब्ध गराएको गरीब जेहेन्दार विद्यार्थी छात्रवृति फाल्गुनन्द गाउँपालिका स्थित सत्यहाङमा मावि इम्बुङ कक्षा तीनमा अध्ययनरत सहना नेम्बाङलाई आठ हजार र खेममाया सिंगक स्मृति पुरस्कार सोही विद्यालयको कक्षा–१२ मा अध्ययनरत ज्योति लिम्बूलाई दश हजार रुपैंयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा चुम्लुङ पाँचथरले निर्माण गरिरहेको चुम्लुङहीम निर्माणको लागि आर्थिक सहयोग गर्ने चुम्लुङ बहराइन शाखा, दक्षिण कोरिया शाखा, ललीतपुर शाखा लगायत विभिन्न ब्यक्तिहरुलाई कदर–पत्र वितरण गरिएको थियो । सोही अवशरमा चुम्लुङ पाँचथरका सदस्य सुवाश तुम्बापोले याक्थुङ पान् (लिम्बू भाषा) विकास बारे प्रश्तावना प्रस्तुत गरेका थिए । उक्त प्रश्तावनामा लिम्बू भाषा विकासको लागि जिल्लाको सबै विद्यालयहरुमा लिम्बू भाषा पठन–पाठन गर्ने, गराउँने वातावरण निर्माण गरिनुपर्ने, जसका लागि पाठ्य पुस्तक निर्माण गरिनुपर्ने लगायतका प्रश्ताव गरिएको थियो ।

जिल्लास्थित जातीय संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवि र पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा केःलाङ साँस्कृतिक समाज पाँचथरका कलाकारहरुले केःलाङ (च्याबु्रङ नाच) प्रस्तुत गरेका थिए । कार्यक्रम चुम्लुङका केन्द्रीय उपाध्यक्ष मलिशा याक्थुङ्बाको प्रमुख आतिथ्यता र चुम्लुङ पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङको अध्यक्षतामा सम्पन्न भएको कोषाध्यक्ष युन्छोहाङमा तुम्बापोले बताइन् ।