विराटनगर / दैनिक मागेर गुजरा चलाउने भीखारीसँग कति पैसाँ हुन्छ होला ? सहजै अनुमान लगाउन सकिन्छ, घर खर्च चलाउनसम्म धाउधाउ पर्नसक्छ ।

तर, विराटनगरमा एक जना भीखारीको घरमा ३ लाख रुपैयाँ भन्दा बढी माटोमा गाडेको अवस्थामा पैसाँ फेलापरेपछि स्थानिय चकित परेका छन् ।विराटनगरको काली मन्दिर, विराटेश्वर मन्दीर, सरस्वती मन्दिर, शनि मन्दिरमा सिजन अनुसार भिख माग्दै हिंड्ने ६५ वर्षीय महेश मण्डल लखपति रहेछन् ।

२०६९ साल जेठमा विराटनगरमा भीखारीलाई न्यूनतम ५ रुपैयाँ दिनुपर्ने भन्दै आन्दोलन गरेको विषय अर्को मजाक बनेको थियो । त्यही आन्दोलनका नेतृत्वकर्ता मण्डलको घर १० दिन अघि विराटनगरको सिंघीया खोलामा आएको बाढीले भत्काइदियो ।

विराटनगर– ७ को सरस्वती टोलको खोला किनारमा छाप्रो बनाएर बसेका मण्डलको भत्कीएको घर पन्छाउने क्रममा आइतबार ३ लाख ७ हजार ४ सय २६ नेपाली रुपैयाँ र ६ हजार २ सय ४ भारतीय रुपैयाँ फेला परेपछि टोलमा हल्लीखल्ली भयो ।

घर भत्किएको एक हप्तासम्म राहत तथा उद्धारमा आउनेहरुलाई घर एरियामा छिर्न नदिएका उनले नेपाली सेनासहितको टोलीलाई भने सामान हटाउने अनुमति दिए । उनले घरमा कसैलाई पस्न नदिनुको राज पैसै थियो ।

सेनाको टोलीले पैसाको सुरक्षा आफूले गरिदिने बताएपछि उनले घरको सामान हटाउन मन्जुरी दिएका थिए ।‘मेरो पैसा प्रशासनले लगेको छ,’ मण्डलले भने, ‘अब बैंकमा राखिदिने रे, मेरो पैसा काहीँ हराउँदैन ।’

विराटेश्वर मन्दिरमा सोमबार सबेरै भीख माग्न आएका उनले आफ्नो नागरिकता नभएको भन्दै पटक–पटक दुखेसो गरे । भारतको दरभंगाबाट झण्डै ४० वर्षअघि नेपाल आएका उनी होटलमा मागेर खाने गर्दथे ।

शारिरीक रुपमा अशक्त उनी विस्तारै मन्दिर अगाडि भीख माग्न थाले । भीख मागेरै आफू र आफ्नी श्रीमती पाल्दै आएको बताउने मंडल व्हील चियरमा हिंड्छन् । मंडल बसोबास गरेको घरमा पुग्दा बिहानै उनी भीख माग्न हिंडीसकेको उनकी श्रीमतीले बताइन् ।

छिमेकीका अनुसार मंडल सिजन अनुसार विराटनगरका हरेक मन्दिरमा भीख माग्न जान्छन् । उनको घरमा प्राप्त रकम सो वडाका अध्यक्ष मधुबाबु तिवारी, उद्धारमा खटिएका नेपाली सेना तथा स्थानीय युवा समूहको रहोबरमा टोल विकास समितिको खातामा जम्मा गर्ने सहमति भएको छ ।‘

मंडलकै जिम्मामा दिँदा पैसा लुटिने र असुरक्षा हुने देखियो,’ वडा अध्यक्ष तिवारीले भने, ‘टोल विकास समितिको खातामा जम्मा गरिदिने र आवश्यकता अनुसार उनलाई दिने भन्ने सहमति भएको छ ।’

नेपाली सेनाले भेट्टाएको उक्त रकम तिवारीलाई जिम्मा लगाइएको थियो । तिवारीले भने जिल्ला प्रहरी कार्यालयलाई पैसा राख्न दिएको जानकारी दिए ।