
इटहरी/धनकुटा–इटहरी सम्पर्क समाजले धनकुटाबाट वसाई सराई आई इटहरीमा बसोबास गरी स्थानीय तहको निर्वाचनमा विजयी हुने उमेद्वारलाई सम्मान गरेको छ । साथै सोही अवसरमा बाढी पिडितको राहतका लागि २१ हजार रुपैयाँ समेत प्रदान गरेकको समाजका अध्यक्ष तेजबहादुर पुरीले बताए ।
शनिबार इटहरीमा आयोजना गरिएको कार्यक्रममा सम्मान तथा राहत प्रदान गरिएको हो । कार्यक्रममा इटहरी ३ का वार्ड अध्यक्ष बालकृष्ण विष्ट, इटहरी ५ का अध्यक्ष कल्याण कार्की, समाजकी सदस्य तथा छथर गाउँपालिकाकी उप–प्रमुख हेमकला श्रेष्ठलगायत इटहरीका मेयर तथा उप–मेयरलाई सम्मान गरिएको अध्यक्ष पुरीले बताए । समाजका सदस्य तथा पदाधिकारीबाट संकलित राहत रकम उद्योग वाणिज्य संघ इटहरीका वरिष्ट उपाध्यक्ष शैलेश विष्ट र नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका सभापति विमल पौडेललाई प्रदान गरिएको थियो । कार्यक्रममा पर्यटन कार्यालय काकरभिट्टाका प्रमुख गणेश तिम्सिनासहित समाजमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तीहरुको सहभागिता रहेको थियो ।
यसै गरी किरात राई सोसाइटी अफ अमेरिकाको सहयोगमा बाढीबाट विस्थापित इटहरीका ६ जना घर परिवार लाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ । किरात राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष चन्द्र राईले संकलन गरेर पठाएको सो रकम सोसाइटीका सदस्य पत्रकार जसकुमार राईले प्रदान गरेका छन् । इटहरी १० का राधा श्रेष्ठ, जीवनकुमार राई, मञ्जु ढकाल, ओमप्रकाश सिंहको परिवारलाई घर निर्माणमा सहयोग पुर्याउने उदेश्यले प्रति परिवार २५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको हो । यसै गरी इटहरी ३ का वसन्त धिमालको परिवारलाई ३० हजार रुपैयाँ र रुजु धिमालको परिवारलाई २० हजार रुपैयाँ प्रदान गरिएको थियो । इटहरीका पत्रकार अर्जुन उप्रेतिको संयोजनमा सो रकम प्रदान गरिएको हो ।