भद्रपुर । केहि वर्ष यता देखि झापाको दक्षीणी क्षेत्रमा जंगली हात्तीले जनधनको क्षति तिब्र बनाउन थालेपछि नियन्त्रणका लागि आठ करोड रुपैया बजेट निकासा भएको छ । राष्ट्रिय योजना आयोगबाट हात्ती नियन्त्रणका लागि पहिलो चौमासिक रकम निकासा भएको हो । राष्ट्रिय योजना आयोगबाट हात्ती नियन्त्रणका लागि पहिलो चौमासिकका लागि दुइ करोड रकम निकासा भएको जिल्ला वन कार्यालय झापाका वन अधिकृत बोधराज सुवेदीले जानकारी दिए । हात्ती नियन्त्रणका लागि व्यवस्थित योजनासहित १३ करोड माग गरिए पनि आठ करोड आठ लाख ९० हजार स्वीकृत भएको वन अधिकृत सुवेदीले बताए । जलथल, भद्रपुर, केचना, हल्दिबारी, मेचीनगरलगायत स्थानमा जंगली हात्तीले दुःख दिन थालेपछि नेपाली काँग्रेस ३ नं क्षेत्रीय समितिले सांसद कृष्णप्रसाद सिटौलामार्फत वन तथा भूसंरक्षण मन्त्रालयमा ज्ञापनपत्र पठाएको थियो । ज्ञापनपछि जिल्ला वन कार्यालयले योजनासहित बजेट माग गरेको र योजना स्वीकृत भएर पहिलो चौमासिकको रकम निकासा भएको सुवेदीको भनाई छ । हात्ती नियन्त्रणका लागि जलथलदेखि बाहुनडाँगीसम्म जैविक मार्ग निर्माण तथा जलथल, चारआली र घेराबारीको जंगलमा करिब ८० किमी लामो विद्युतीय तारबार निर्माण गरिने भएको वन अधिकृत सुवेदीले जानकारी दिए । जलथल जंगल वरिपरि ५० किमी, चारआली जंगलको २० किमी र घेराबारीको १० किमी जंगल क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिने उनको भनाई छ । हात्तीको उपद्रो बढ्दै गएपछि स्थानीय स्तरमा चासोको विषय वनेको थियो । झापाको उत्तर वाहुण्डाँगी लगायत आसपासका क्षेत्रलाइ हात्ती प्रभावित क्षेत्र मानिदै आएपनि पछिल्लो समय भद्रपुर,हल्दिवारी, केचना लगायतका नगरपालकिा तथा गाँउपालिकामा हात्तीको उपद्रो बढ्दै गएपछि सो क्षेत्रका निर्वाचित जनप्रतिनिधीले गम्भिर रुपमा चासो लिएका थिए । केहि दिन अघि भद्रपुर नगरपालकिा,हलिदवारी र कचनकवल गाउपालकिाको संयोजन तथा जिल्ला वन कार्यालयको सहजीकरणमा हात्ती समस्या र समाधानको सम्भावना विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रमको समेत आयोजना गरिएको थियो । वाहुण्डागी क्षेत्रमा विद्युतिय तारवार सञ्चालनमा आएपछि भारत पर्किननसकेका जंगली हात्तीले जलथल, भेलागढी,चारआली लगायतको जंगलमा आफ्नो वासस्थान बनाई रातभर मानव वस्तीमा गएर जनधनको नोक्सान पुर्याउने गरेको सुवेदीले बृत्तचित्र मार्फत जानकारी गराएका थिए । प्रभावित क्षेत्रमा रैथाने ७ देखि ११ ओटा रहेका हात्तीले प्राय धान र मकैको समयमा देखिने गरेको र हाल रैथानेले नै क्षति पुर्याइरहेको उनले जनाए । हालसम्म २८ जना मानिसको ज्यान गएको छ भने ८ ओटा हात्ती मरेको जनाइएको छ । ज्यान गुमाउनेलाई २ करोड भन्दा बढी राहत रकम वितरण गरिसकिएको जिल्ला वन कार्यालयले जनाएको छ ।