भद्रपुर । दुइ हप्ता अघि वर्षासगै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धानबालीतर्फ ८८ करोड ५५ लाख, माछापालनतर्फ पाँच करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ चार लाख ८० हजार र तरकारीबालीतर्फ १२ करोड ६० लाख रुपैंया बराबरको नोक्सानी भएको अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले जानकारी दिए । त्यसैगरि बाढीबाट सात हजार २सय ६६ हेक्टर जग्गामा लगाइएको बालीनालीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाभरि क्षति बढ्न सक्ने बताइएको छ । बाढीले झापाका १५ वटै स्थानीय तहमा क्षति पुगेको डाँगीले बताए । बिर्तामोड, भद्रपुर, दमक, कन्काई, मेचीनगर, अर्जुनधारा, शिवसत्ताक्षी, गौरादह नगरपालिका तथा बुद्धशान्ति, हल्दिबारी, कचनकवल, बाह्रदशी, झापा, गौरीगञ्ज र कमल गाउँपालिकामा क्षति पु¥याएको बताइएको छ । क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ । डुबानमा परेपछि करोडौं मुल्य बराबरको तरकारी नष्ट भएको छ । तरकारी नष्ट भएसंगै पूर्वी पहाडी जिल्लाबाट आयत हुने तरकारीको भाउ आकाशिएको उपभोक्ताहरुले गुनासो गरेका छन् । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लाबाट झापाको विर्तामोड स्थित कृषि थोक उपज बजारमा विक्रिका लागी ल्याइएका तरकारी महंगो पर्न थालेको स्थानीय हरि भट्टराईले बताए । बाढीका कारण झापामा ६ सय ४४ वटा घर पूर्णरुपमा क्षति ग्रस्त भएका छन् भने १५ सय ४१ घरमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घरहरुमा क्षति हुदाँ करिब ३४ सय मानिस प्रभावित भएको जनाइएको छ । त्यसैगरि बाढीमा परी झापामा दुई हजार सात सय ७९ पशुचौपायाको मृत्यु भएको छ भने ४३ लाखको क्षति भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार हालसम्म बाढीमा परी गाईगोरु २३ वटा, भैँसीराँगा १, खसीबाख्रा १सय ५, बंगुर ५६, बोइलर कुखुरा २२सय, स्थानीय जातका कुखुरा ३सय ८३ र हाँस ११ वटा मरेको कार्यालयले जनाएको छ ।