शनिश्चरे/भष्टाचार नगरी निष्पक्ष र पारदर्शी रुपमा जनताको काम सम्पन्न गर्न जनप्रतिनिधि स्वयम् व्यवसायिक बन्नु पर्ने कुरालाई मनन् गर्दै मोरङको पथरीशनिश्चरेका एकजना जनप्रतिनिधिले आफुले व्यवसाय समेत थालेका छन् ।

नगरका निर्वाचित जनप्रतिनिधिमध्ये उमेरले कान्छा पथरी शनिश्चरे १० का सदस्य अनोज घिमिरेले आफ्ना दाजू विनोद घिमिरेसँग मिलेर स्थापना गरेको ‘कृतिका कार्पेट तथा प्लाष्टिक हाउस’को शनिबार एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्टले उद्घाटन् गरिन् । विष्टले रिबन काटेर र सामान किनेर पसलको उद्घाटन् गरेकी थिइन् ।

पथरीको सिनेमा हल उत्तरमा रहेको पसलको उद्घाटनका क्रममा विष्टले यसखाले व्यवसायले जनप्रतिनिधिहरुलाई आफ्नो आर्थिक अवस्थामा सहयोग पुर्याउँदा समाजसेवा गर्न थप सजिलो भई जनताको काम प्रभावकारी हुने बताइन् ।

जिरिखिम्ती निवासी घिमिरेल दाजुभाईले १५ लाखको लगानीमा कार्पेट, प्लाष्टिकका कुर्सी, पर्दा सहितको व्यवसाय शुरु गरेका हुन् । अनोज भन्छन् ‘ दाजू भाई छौं । जनताको काम गर्न र पसलमा बस्न २ जना हुँदा सजिलो हुन्छ । यसको व्यवसायिकताले समाजसेवामा सहयोग पुर्याउँछ भन्ने लागेर पसल थालेको हो ।’ पढाईमा स्नातकोत्तर गरेपनि समाजसेवा र यसखाले व्यवसाय गरेर फरक पहिचान बनाउने अनोजको धोको छ ।