भद्रपुर । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान र सासुलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।
पाँचथर घर भई हाल सुरुङ्गामा डेरा गरेर बस्ने २० वर्षीया शर्मिला माझीको आफ्नै श्रीमान करिब २० वर्षीय सविन माझी र सासु करिब ४० वर्षीया सारदा माझीले हत्या गरेर घरछेउकै बकाइनोको रुखमा झुण्डाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ५ बजे स्थानीयले बकाइनोको रुखमा सलको पासो बनाएर शर्मिला झुण्डाएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । भुइमा खुट्टा लत्त्रेकोकारणले उनको हत्या गरी झुण्डाएको भन्दै स्थानीयले श्रीमान र सासुलाई कुटपिट गर्न खोजेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको प्रत्यक्षदर्शीले बताए ।
घटनाबारे पोष्टमाटम रिर्पोट पछि मात्र थप कुरा खुल्ने प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले बताए । आरोपितलाई नियन्त्रणमा लिएको जानकारी दिदै हत्याको पुष्टि भएमा ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाइने एसपी केसीको भनाई छ । करिव दुई वर्ष पहिलेमात्रै विवाह बन्धनमा बाधिएका यी जोडीमा बिहेदेखि नै खटपट रहेको आफन्तहरु बताउँछन । सासु सारदाले भने आफुले बेलुकी बढी मदिरा पिएर सुतेकाले केही थाहा नभएको बताइन् । उनी मानसिक रुपमासमेत रोगी रहेको जनाएको छ । सासु, छोरा र बुहारी एउटै कोठामा बस्दै आएका थिए ।