काठमाडौं/ वसन्तपुर क्षेत्रमा सामाजिक काममा सक्रिय गणपतीलाल श्रेष्ठको मोबाइलमा बुधबार झम्के साँझमा एउटा फोन आयो, झोछें चोकमा किराना पसल गरी बस्ने चिनेजानेकै दाइ राजु मानन्धरको । राजुले हतास भएजस्तो स्वरमा भने, ‘भाइ इमर्जेन्सी छ । एकपटक भेट्नै पर्ने भयो ।’ इमर्जेन्सी भनेका राजुले गणपतीलाई राति अबेरसम्म फोन गरेनन् । न भेट्न नै आए ।

राति एक्कासी नौ बजे फेरि फोन आयो । तर, त्यो राजुको नम्बर भने थिए । नयाँ नम्बरबाट फोन गरेर राजुले भने, भेट्नै पऱ्यो । फोन गरेको केहीबेरमै गणपतीलाई भेटन राजु ताहचलको जनज्योति मावि छेउमा आइपुगे । त्यसपछि राजुले जे कुरा सुनाए, त्यसले गणपतीको होसहवास उडाइदियो । एकैछिन त के गर्ने र कसो गर्ने भयो, गणपतीले त्यो बेला सम्झिँदै भने, ‘अलि अलि डर पनि लाग्यो ।’

झोछेंमै स्थायी घर भएका राजु आफ्नी आमा, पत्नी, छोरा र ४८ वर्ष पुगेका तर अविवाहित भाइ गौतमसँगै बस्थे । दुवै दाजुभाइ झोछें क्षेत्रमा हुने सबै सामाजिक काममा धेरथोर सक्रिय देखिन्थे । ‘बाहिरबाट हेर्दा दाजुभाइको सम्बन्ध उतिसाह्रो बिग्रिएको पनि देखिन्थेन’गणपतिले भने, ‘तर परिवारभित्रको समस्या बाहिरकालाई थाहा थिएन ।’

राजुका अनुसार स-साना पारिवारिक र कारोबारका कुरामा गौतमले बारम्बार परिवारमा किचलो मच्चाइरहन्थे । भाइको किचलोबाट परिवारको शान्ति विथोलिएको र सबैजना आजित भएको राजुको भनाइ थियो । त्यही किचलो र तारन्तारको हैरानी खेप्न नसकेर उनी भाइसँग आजित भइसकेका थिए ।

बुधबार दिउँसो गौतम आफ्नै कोठामा ढोका ढप्काइ उत्तानो परेर सुतेका थिए । साढे दुई बजेतिरको कुरा हो । पत्नीलाई पसल छोडेर राजु भाइको कोठामा पुगे । त्यतिबेला उनको दिमागका के कुरा खेलिरहेको थियो उनै जानुन् । राजुले दाँयाबायाँ हेरे । छेवैमा एकतिर खन्तीजस्तो धार भएको मार्तोल फेला पारे । दाँयाबायाँ केही सोचेनन् र भकाभक भाइको टाउकोमा प्रहार गरिरहे । रगतपिच्छे भएर गिदी नै निस्केपछि उनी कोठाबाट बाहिर निस्के ।

आफ्नो कोठाभित्र रहेको ट्वाईलेटमा गएर मार्तोल धोए । सेतो ज्याकेट सर्फमा हालेर मज्जाले धोएर सुकाए । घर बाहिर निस्केर चिया खाए । त्यसपछि के गरौं र कसौं गरौं हुँदै बसपार्क गएर गाडी चढे । सिनामंगल पुगेपछि दिमागमा के के तर्कना आयो र राजु फर्केर कालीमाटीमा साथीलाई भेट्न आए । भाइको हत्यापछि आफू पनि मर्छु भन्ने सोचेका राजुले आफूलाई त्याग्न सकेनन् ।

गणपतीलाई सबै कुरा सुनाएपछि राजुले भने, ‘मेरो कारणले परिवारलाई दुस्ख नहोस् । मलाई प्रहरीकहाँ लगिदेउ । आत्मसर्मपण गर्छु ।’गणपतीलाई ठ्याक्कै दस बजेपछि राजुलाई लिएर जनसेवा प्रहरीमा बुझाइदिए । प्रहरीले राति साढे एक बजे राजुको घर पुगेर मुचुल्का उठायो र भाइको शव निकाल्यो । जनसेवाका डिएसपी सन्तोष आचार्यका अनुसार घरायसी आर्थिक विवाद नै हत्याको मुख्य कारण रहेको देखिन्छ । प्रहरीका अनुसार सगोलको परिवारको नाममा रहेको जग्गा बेच्नका निम्ति उनीहरुले बैना बुझिसकेका थिए । तर, बैना बुझे पनि उनीहरुले जग्गा पास गरेर दिएका थिएनन् । जग्गा बेच्न नहुने पक्षमा भाइ गौतम थिए र यही विषयमा परिवारमा किचलो चलिरहेको थियो । बैना बुझाउने पक्ष भने छिटो जग्गा पास गरिदिनु पऱ्यो भन्दै दाइ राजुलाई दबाब दिइरहेका थिए ।

प्रहरीका अनुसार पछिल्लो विवादको मुख्य कारण यही जग्गा भएको देखिन्छ । जनसेवाले बिहीबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरेर राजुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइसकेको छ ।

इकान्तिपुरबाट