धरान/ नेकपा माओवादी केन्द्रको धरान कमिटीले नवनिर्वाचित नगर प्रमुखलाई बिहीबार धरानको समग्र विकासबारे अाफ्नाे धारणासहितको ज्ञापनपत्र बुझाएको छ ।

केन्द्रका धरान नगर संयोजक चोत्लुङको नेतृत्वमा गएको टोलीले मेयर तारा सुब्बालाई उनकै कार्यकक्षमा ज्ञापनपत्र बुझाएको हो । केन्द्रले धरानलाई १ नम्बर प्रदेशको राजधानी बनाउन नगर सभाबाट प्रस्ताव पास गरी नगर सरकारले पहल गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै, उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पूर्वाधार तयार गर्नुपर्ने, धरानमा रहेका सुकुम्बासीहरूलाई घर नम्बर प्रदान गरी धुरीकर लिने व्यवस्था गर्नुपर्ने, नगरका पूर्व र पश्चिम क्षेत्रमा अवस्थित सर्दू, सेउती र सेहरालगायत खहरे खोला नियन्त्रणका लागि ५ करोड रूपैयाँ विनियोजन गर्नुपर्ने माग ज्ञापनपत्रमा छन् ।

यसैगरी धरान खानेपानी आयोजनालाई नगर सरकारमातहत ल्याइनुपर्ने, विजयपुर दरबारको पुनःनिर्माण गरिनुपर्ने, जलाधार क्षेत्रको संरक्षण गरिनुपर्ने, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिकहरूको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न पहल गर्नुपर्ने, नगर क्षेत्रमा रहेका सञ्चार गृहको विकासका लागि मिडिया कम्प्लेक्स निर्माण गरिनुपर्नेलगायतका माग छन् ।

केन्द्रले धरानको गौरवको योजनाका रूपमा विमानस्थल, रङ्गशाला र बहुजातीय सङ्ग्रहालय निर्माण, विजयपुर दरबार तथा ऐतिहासिक धार्मिक संरचनाको पुनःनिर्माण, भित्री रिङरोड, सर्दू, सेउती, सेहरा खहरे तटबन्धन, थाउजेन्ड बिग बुद्ध, तीनकुने–जिरोप्वाइन्ट फ्लाइओभर, बाहिरी रिङरोड, सप्तरङ्गी पार्क निर्माण, विष्णुपादुका–वराहक्षेत्र सडक र धरान पानबारी–चोक्टी सडक निर्माण गर्नुपर्ने माग पनि छन् ।

यस्तै, बाहिरी चक्रपथ, बसपार्क, धरान–हर्दिया–कन्यापोखरी सडक, धरानको नयाँ नापी, गोर्खा स्मृति पार्क, आधुनिक वृद्धाश्रम, भक्तराज कन्दङ्वा क्रिकेट मैदान (धरान–१५), धरान गेट, सर्दू खोलामा पुल, धरान औद्योगिक क्षेत्र विस्तार, ल्यान्डफिल साइट निर्माण, सञ्चार कम्प्लेक्स, थिएटरसहितको कला एकेडेमी, बहुभाषिक, प्राविधिक विश्वविद्यालय स्थापना, सर्दू जलाधार क्षेत्र संरक्षण तथा सीमाङ्कन, धरानका डे«नहरूको मास्टर प्लान निर्माणका योजना पनि केन्द्रले प्रस्तुत गरेको छ ।