इटहरी/ आर्थिक प्रभावमा परेर वैदेशिक रोजगारीमा हिडेका दुई युवतीलाई इलाका प्रहरी इटहरीले उद्दार गरेको छ ।

राम्रो कमाई हुने प्रलोभनमा परेर भारत जान लागेका इलामका दुई जना युवतीलाई इटहरीले प्रहरीले उद्धार गरी घर फर्काएको छ । इलाम फाकफोकथुम गाउँपालिका वडा नं. ३ की २२ बर्षीया मौसमी राई र सोही ठाउँकी १८ बर्षीया प्रमिला राईलाई इटहरी प्रहरीले इटहरीको एक लजबाट उघार गरेको हो ।

उनीहरुको इलाम फाकफोकथुम ३ का गर्जमान राईको सम्पर्कमा भारतमा रोजगारीको लागि हिडेका थिए । गर्जमानले भारतमा राम्रो पैसा हुने काम लगाइदिने भन्दै उनीहरुलाई लिएर आएका थिए ।

दुई दिन सम्म इटहरीमा राखिएका ती दुई युवतीले रोजगारीमा लैजाने मान्छे प्रति शंका गरी प्रहरीलाई खवर गरे पछि उनीहरुको उद्धार गरिएका इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

गर्जमानले आफू भारतमै भएको र भारतमै आउनु भनि खवर गरे पछि घरपरिवारलाई समेत थाहा नदिई हिडेका ती युवतीले प्रहरीमा खवर गरेका थिए ।

युवतीको उद्धार गरी गर्जमानलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरीनिरिक्षक चिरञ्जीवी दाहालले बताए । इटहरी प्रहरीका अनुसार इलाम प्रहरीले गर्जमानलाई मानव वेचविखनमा मुद्दा चलाएको छ ।

पक्राउ परेका गर्जमान यस अघि पनि मेनपावर व्यवसायी भएर काम गर्ने गरेको बताइएको छ ।