भद्रपुर । बाढी पीडित परिवारलाई दैनिक खाना खर्च वापत सरकारले उपलब्ध गराएको रकम विहीवारवाट वितरण सुरु गरिएको छ । झापाको बिर्तामोड र मेचीनगरका १६ परिवारलाइ नेपाल रेडक्रस सोसाइटी झापाको संयोजनमा बिर्तामोडस्थित रेडक्रस भवनमा जिल्ला प्रशासन कार्यालयले प्रतिव्यक्ति दैनिक ७० रुपैयाँका दरले एक महिनाको एकमुष्ठ रकम प्रदान गरिएको हो । बिर्तामोड–१ शान्टिोलका मोहम्मद सलिम (सुवोध), आर्जना खातुम (मल्दर), चारपानेका सीतादेवी श्रेष्ठ, झरिया हेमरम, २ बालुवाटारका यासमिन खातुम, देउमान दर्जी, जाहाना खातुम, भेटवाल टोलका रुमन मूर्मू, ३ मेगावारीका वरसालु माझी, देवसरी राजवंशी, राधिका विकले राहत पाएका छन्् । त्यस्तै मेचीनगर–१० ताराबारीका जोसना मलाह, सावित्री उराउ, लक्ष्मण उराउ (माङ्ग्री उराउ), १३ वमबारीका डिगल विर्जा, भुसेन विर्जाले राहत पाएका हुन् । पीडित परिवारलाइ झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नगद हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरेका थिए । झापामा पहिलोपटक दैनिक खाना खर्च वापतको रकम वितरण शुरु भएको प्रजिअ तिवारीले बताए । बिर्तामोडका ११ परिवारलाई नगदसँगै नेपाल रेडक्रस सोसाइटीले त्रिपाल र भाडाबर्तनसहितको राहत प्याकेज सेट प्रदान गरेको हो । मेचीनगरकाले भने यसअघि नै उक्त प्याकेज पाएका थिए ।

बिर्तामोडका ११ र मेचीनगरका ५ परिवारलाई उक्त रकम प्रदान गरिएको रेडक्रस झापाको सभापति लोकराज ढकालले जानकारी दिए । प्रजिअ तिवारीसँगै बिर्तामोड नगरका प्रमुख धु्रवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले पीडित परिवारलाई नगद वितरण गरेको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत राजु दाहालले बताए । सरकारले पूर्ण रुपमा घर क्षति भएका परिवारका सदस्यलाई पहिलोचरणमा दैनिक खाना खर्च वापत उक्त रकम उपलब्ध गराएको हो । जिल्ला दैवीप्रकोप उद्धार समितिको विहीवारको बैठकको निर्णय अनुसार राहत वितरण शुरु भएको हो । सबैभन्दा कम पीडित रहेको क्षेत्रबाट पहिलो चरणको नगद राहत वितरण शुरु भएको बताइएको छ । अब क्रमशः अन्य स्थानमा पनि राहत वितरण गरिने बताइएको छ ।