धरान/धरानलार्इ साइकल सिटी बनाउने अभियानलाई मूर्त रुपमा दिने अभिप्रायले ‘साइकल रयाली’ गर्दै धरान जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रमको प्रारम्भ गरेको छ ।

बिहीबारदेखि सुरु भएको जेसिज सप्ताह अन्तर्गत बिहीबार साइकल र्याली आयोजना गरिएको छ । भानुचौकबाट सुरु भएको र्याली पुतलीलाइन, कल्याणचोक हुँदै चतरालाइन, छाताचौक हुँदै भानुचौकमा आएर टुंगिएको थियो । जेसिज सप्ताहलाई रचनात्मक बनाउनको लागि पनि साइकल र्याली गरिएको साइकल र्याली संयोजक कृष्ण केसीले बताए ।
साइकल र्यालीको औपचारिक कार्यक्रममा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर साहलाई जेसिजले सम्मानित गरेको थियो । जसले साइकलमार्फत् देशलाई चिनाउन उच्च योगदान पु¥याएको भन्दै सम्मान पत्रसहितले सम्मानित गरिएको धरान जेजिस वर्ष २०१७ का अध्यक्ष सन्दीप शाक्यले बताए । साहले १९९८ बाट साइकल यात्र सुरु गरेर सन् २००९ मा नेपाल फर्किएका थिए । विश्व साइकल यात्रालार्इ समेटेर उनले ‘संसारलाई पाँच फन्को’ नामक पुस्तकसमेत प्रकाशित गरिसकेका छन् ।
साहले सम्मान ग्रहण गर्दै युवाहरुलाई साइकलमा उत्प्रेरणा जगाउँने आफ्नो उद्देश्य रहेर नै आफू दोलखादेखि धरानसम्म आइपुगेको बताए । जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कविता प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर, हेल्दी बेवी प्रतियोगिता, लेखा विधि तालिम, वतृत्वकला प्रतियोगिता र जेसिजको ४२ औं वार्षिकोत्सव मनाउँदै कार्यक्रम सम्पन्न गर्ने जेसिज उपाध्यक्ष सञ्जू राईले बताइन् । कार्यक्रमको औपचारिक उद्घाटन पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख डिआइजी जानकीराज भट्टराईले गरेका थिए ।