विराटनगर/अदृश्य शक्तिले कपाल काटेको हल्ला भारतको विभिन्न स्थानमा चलिरहेका बेला विराटनगरमा पनि एक बालिकाको सुतेको ठाउँमा कपाल काटिएको फेला परेको छ ।
विराटनगर – १२ सैनिकटोलकी १४ वर्षिया पिंकी कर्ण मंगलबार राती सुतेको अवस्थामा कपाल काटिको घटना फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।‘मोरङमा पनि नयाँ घटना देखियो,’ मोरङ प्रहरी प्रमुख एसपी बिसीले भने, ‘कसले कपाल काट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’
कपाल काटिएको भेटिए पनि कसले, किन र केका लागि काटेको भन्ने विषय अनुसन्धानकै क्रममा रहेको उनले बताए । कपाल काटेको घटना सत्य भए पनि अदृश्य रुपमा यस्तो घटना भएकाले केही गर्न नसकेको उनले बताए ।
घटनास्थलबाट कुनै त्यस्तो आधार फेला नपरेको भए पनि घटनाको विषयमा अनुसन्धान भइरहेको बिसीको भनाई छ ।अदृश्य रुपमा भएको यस्तो घटनाले सबैलाई आश्चर्यचकित र आतंकित बनाएको पिंकीको काका दिपक कर्णले बताए । राती तीन जना दिदी, बहिने सुतेका थिए,’ उनले भने, ‘विहान उठदा भतिजी छोरी पंकीको कपाल बेड मुनी भइमा थियो ।’
पिंकी मंगलबार राती काकाको घरमा सुत्न गएकी थिइन् । विभिन्न स्थानमा कपाल काटिएपछि बेहोस हुने गरेको भए पनि पिंकी अहिले स्वस्थ्य रहेको उनको परिवारले जनाएको छ । पिंकीका अनुसार कपाल काटदा केही थाहा नपाएको बताइन् ।
‘विहान काकीले सुतेको ठाउँबाट उठाएर भुइमा झरेको कपाल देखाउँदा पो थाहा पाए ।’ उनले भनिन ।अहिले भारतको विभिन्न स्थानमा महिलाहरुको कपाल काट्ने (चोटी कटुवा)को हल्ला फैलिरहेको छ ।
नेपालमा पनि यस्तो घटना भएपछि सर्वसाधारणले भारतबाट कपाल काट्ने (चोटी कटुवा) नेपाल पसेको शंका गर्न थालेका छन् ।