भद्रपुर । वर्षासंगै आएको बाढीका कारण झापामा अनुमानित २ अर्ब १५ करोड ७ लाख रुपैंयाको भौतिक संरचनामा क्षति भएको छ । विभिन्न नगरपालिका तथा गाँउपालिकामा भएको क्षतिको विवरण संकलनका लागी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत साउन २७ र २८ गते लगातार रुपमा भएको वर्षाका कारण झापामा ठूलो जनधनको क्षति भएको थियो । क्षतिको विवरण संकलन हुने क्रम जारी रहेको र धेरै ग्रामीण सडकहरु भत्किएको तथा पुल, नहर तथा सिचाँई आयोजनाका साथै खानेपानीको पाइप समेत बगाएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । भौतिक संरचना अन्र्तगत सिँचाई डिभिजन अनर्तगत भद्रपुरमा ४१, इकाई १ तथा जनताको तटबन्ध अन्र्तगत ५ स्थानमा क्षति पुगेको छ भने सडक डिभिजन कार्यालय अन्र्तगत २५ स्थानका सडकहरुका क्षति पुगेको छ । खानेपानीको क्षेत्रमा १९ स्थानमा क्षति पुगेको छ । प्राविधिक तर्फ ५, जलउत्पन्न प्रकोप नियन्त्रणको ९ आयोजनाहरुमा क्षति पुगेको बताइएको छ । यी आयोजनाहरुमा २ अर्ब १५ करोड ७ लाख रुपैंया बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । अन्य विभिन्न क्षेत्रको विवरण संकलन गर्ने काम भएरहेकाले अझै बढ्न सक्ने प्रजिअ तिवारीले बताए । भौतिक क्षतिको विवरणहरु प्रप्त भएपनि कृषिको विषयमा टोली परिचालन भएको र धमाधम विवरण संकलन भइरहेको प्रजिअ तिवारीले बताए । झापाका दक्षिणी क्षेत्रहरु सबैभन्दा धेरै प्रभावित भएको तिवारीको भनाइ छ । यसपटकको बाढीले दक्षिणी क्षेत्रमा धेरै सताएकोले धेरैलाई घरबार बिहिन बनाएको र आफ्न्त गुमाउनु पर्दाको पिडा पनि उत्तिकै रहेको उनले बताए । क्षतिलाइ मध्यनजर गरि सरकारले राहत वितरणलाई तिब्र बनाएको उनले बताए । अधिकांश बाढी पीडितहरुलाई ब्यवस्थापनको काम भइरहेको र सरकारले गर्ने निर्णयका आधारमा तथा स्थानीय जनप्रतिनिधिको समन्व्यमा बाढी पीडितको उचित ब्यवस्थापनका लागी जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको उनले बताए ।