संखुवासभा/श्रावण २२ संखुवासभाको पाँचखपन नगरपालिका १ का सर्वसाधरणहरु महिनौं देखि अन्धकारमा जीवन विताई रहेकाछन् । असार १३ गते बेलुका भिषण वर्षासंगै आएको पहिरोले पावरहाउसमा क्षति पुगे पछि स्थानियहरु अन्धकारमा बस्न बाध्य भएका हुन् । पहिरोले पावरहाउसमा भएका जेनेरेटर, एलसी बोर्ड लगायतका अन्य बहुमूल्य मेसिनहरुमा क्षति पु¥याएको थियो भने पावरहाउस रहेको भवन समेत भत्केपछि उपभोक्ताहरु मारमा परेका हुन् ।

उक्त पावरहाउस मर्मत गर्न तत्काल सम्भव नभएपछि १ नं. वडाका १८० घरपरिवार अहिले अन्धकारमा छन् । कुसुवा खोलाबाट उत्पादन गरिएको उक्त कुसुवा खोला लघु जलविद्युत आयोजना २०६३ सालमा ३२ लाखको लागतमा स्थापना भएपछि सो वाडाका बासिन्दाहरुले अन्धकारबाट मुक्ति पाएका थिए ।

बिजुली बत्ती नभएपछि खाना पकाउन तथा विजुलीबाट हुने विभिन्न कामहरु गर्न समस्या भएको उपभोक्ता विष्णु मादेन बताउछन् । अब विजुली बत्ती पूर्ण रुपमा सञ्चालन हुन १५ लाख रुपैंया खर्च हुने उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर बुढाथोकीले बताए । १५ वाट क्षमताभएको सो आयोजनाले १८० घर परिवारलाई उज्यालो प्रदान गरि रहेको थियो ।

उक्त पावरहाउसको क्षतिको मूल्याङकन गर्दै पाँचखपन नगरपालिकाले ६ लाख रुपैंया दिने घोषणा गरेको छ ।नगरपालिकाले रकम घोषणा गरेपछि पावरहाउसको भवन निर्माण बिहिबारबाट सुरु गरिएको उपभोक्ता टंक बुढाथोकीले बताए ।

विद्युत उत्पादनका लागी आवश्यक मेशिन मर्मत तथा खरिद गर्न मात्र उक्त रकम खर्च गरिने र पावरहाउस निर्माणका लागी सम्पूर्ण कार्य जनश्रमदान गरिने अर्का उपभोक्ता मिलन हाङगामले बताए ।

यदी विद्युत सञ्चालनका लागी रकमको अभाव भएमा उपभोक्ताहरुबाट सहयोग लिने हाङगामले बताए । सबै प्राविधिक जाँच भइ सकेको र भवन निर्माण सुरु भएकाले अबको १० दिन भित्रमा विद्युत सञ्चालन हुने अध्यक्ष्य बुढाथोकीले बताए ।