ताप्लेजुङ/मा पछिल्लो समय निरन्तर भईरहेको वर्षाको कारण पहिरो झर्दा दुई दिनको समयमा तीन घरमा क्षति पुगेको छ भने चार घर पहिरोको जोखिममा परेका छन् ।
बुधबार विहान र गएरातिको वर्षा पछि पहिरो झर्दा फुङ्लिङ नगरपालीका १० र ४ मा दुई घरमा भत्किएको छ भने आठराई त्रिवेणि गाउँपालीका १ निगुरादिनमा एक घर भत्किएको प्रहरीले बताएको छ ।
गएरातिको वर्षा पछि झरेको पहिरोले फुङ्लिङ नगरपालीका ४ कि छत्रमायाँ लिम्बुको घर र किचन भत्काएको छ भने आठराई त्रिवेणि गाउँपालीका १ का भिम वहादुर विकको घर पनि पहिरोले भत्काएको स्थानिय नगेन्द्र सिटौलाले जानकारी दिनुभयो ।
पहिरो जानसाथ घरमा भएका विक र लिम्बुका परिवार भागेकाले मानविय क्षति भने नभएको जिल्ला प्रहरी कर्यालय ताप्लेजुङले जनाएको छ । विकको अर्को घर पहिरोको जोखिममा रहेको छ ।
उता फुङ्लिङ नगरपालिका १० भालुगौडेमा भने बुधबार विहान पहिरो झर्दा कृष्णबहादुर भट्टराईको घर भत्किएको थियो । बधबार विहान र राति गएको पहिरोका कारण विस्थापित तीन परिवार अहिले आफन्तको सरणमा बसेका छन् । भट्टराईका छिमेकि नरबहादुर भट्टराई, टेकमान भट्टराई र भक्ति हाङ फुरुम्बु लिम्बुको घर पनि पहिरोको जोखिममा रहेका छन् ।
तीनै स्थानमा पहिरोका कारण १० लाख बढिको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । ताप्लेजुङमा पछिल्लो दिन वर्षा हुने क्रम बढेकाले पहिरोको जोखिम पनि बढेको पुर्वि क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । विगत २४ घण्टामा ताप्लेजुङमा ५० मिलिमिटर वर्षा भएको थियो ।