धरान/दर्जन भन्दा बढी गीत गाइसकेका तथा संगीत भरेका गायक एवम् संगीतकार राइमन राईले आत्महत्या गरेका छन् ।

धरान–११ सिर्जनाचोकस्थित फूपूको घरमा बस्दै आएका राईले बुधबार बिहानको राति १ बजेतिर आत्महत्या गरेको अवस्थामा फेला पारेको प्रहरीले पुष्टी गरेको छ । त्यसो त, उनी झुण्डिएको अवस्थामा देखेपछि परिवारले प्रहरीलाई सूचना गरेको थियो ।
उनको मनन् र मिक्स एल्बम बजारमा आइसकेको छ । मनन् उनको सोलो एल्बम हो । यस अघि २०५६ सालतिर मिक्स एल्बम निकालेका थिए भने २०७३ सालमा मनन् निकालेर चर्चामा आएका थिए । ‘भाग्यमा नै थिएन होला, ध्वजेको डाँडामा, भाइटीकामा भेट्न आउँदालगायतका एकदर्जन गीत गाइसकेका थिए । उनी म्युजिक एरेन्जरको रुपमासमेत थिए ।
उनले धरान–१७ को निम्न माध्यामिक विद्यालयमा अस्थायी शिक्षकको रुपमा कार्यरत रहेका थिए भने उनको स्थायी ठेगाना भोजपुर हो । ३८ वर्षीय उनी किरात राई कलाकार संघका पूर्व अध्यक्षसमेत रहेको थिए । केही समय यता उनी मानसिक रुपमा विक्षिप्त भएको बारे जानकारी गराएको बसन्त बान्तवाले बताए । उनका अनुसार आफूलाई कसैले मार्न खोजेको जस्तो लाग्ने गरेको बताउँदै आएका थिए । तर, उपचारको लागि भने उनी अस्पतालसम्म पुगेका थिएनन् । उनको शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको प्रहरीले जनाएको छ । उनी अविवाहित हुन् ।