शनिश्चरे/माछापुच्छ्रे बैंकले झापाको दमक लगायत ११ स्थानमा सोमबार एकसाथ शाखा खोली बैंकिङ्ग सेवा सुरु गरेको छ । माछापुछ्रेले दमक, लहान, बर्दिवास, महेन्द्रनगर, कोहलपुरलगायतका स्थानमा एकसाथ शाखा स्थापना गरेर बैंकिङ्ग कारोबारको शुरुवात गरेको वैंकले जनाएको छ ।  दमकस्थित बेलडाँगी रोडमा स्थापना भएको बैंकको शाखाको बैंक सञ्चालक समिति अध्यक्ष रोशन केसी र सञ्चालक विश्वप्रकाश गौतमले रिबन काटेर उद्घाटन् गरेका छन् । अध्यक्ष केसीले ग्राहकलाईस्तरीय सेवा दिने प्रतिवद्धता ब्यक्त गरेका छन् । ६ वटा शाखा, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवा एकसाथ सुुरु भएको उनले जनाए । सो अवसरमा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकलाई ५० हजार रुपैयाँको चेक प्रदान गरी सहयोग गरिएको छ । कार्यक्रममा बोल्दै दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले ग्राहकलाई सर्वसुलभ सेवा दिने नाममा ऋणीहरु माथि निरन्तर ब्याज बढाउने परिपाटी वैंकहरुले अन्त्य गर्नुपर्ने समेत अनुरोध गरेका छन् । बैंकले २०७३ चैतसम्म ५८ अर्ब ४ करोड निक्षेप परिचालन गरी ५३ अर्ब ५ करोड कर्जा प्रवाह गरेको शाखा प्रवन्धक लालबाबु शाहले जनाए ।