धरान/पैदल यात्रुका लागि धरानको मुख्य बजार भानुचोक–घण्टाघर परिसरमा आकाशे पुल निर्माण गर्ने हल्लाले एकपटक बजार तात्तियो । बढ्दो सहरीकरण र सवारी चापले पैदल यात्रुलाई समस्या भइरहेका बेला पुल ठीकै हो भन्ने पनि निस्किए तर अहिले पुल बनाउने हल्ला हल्लामै सीमित बन्न पुगेको छ ।

भानुचोक–घण्टाघर परिसरमा आकाशे पुल आवश्यकता एक दशकअघिदेखि भए पनि सरकारी योजनामा पर्न नसक्ने भएपछि बेलायत बस्ने धरानवासी र अन्य नेपाली समुदाय आर्थिक संकलनमा जुटाएर पुल बनाउने भन्ने कुराले बजारमा राम्रै चर्चा बटुलेको थियो । भानुचोक क्षेत्रमा पैदल यात्रु, विद्यार्थी, महिला बालबालिकालाई बाटो काट्न समस्या हुने गरेको छ ।आकाशे पुलका लागि प्रारम्भिक सर्भे भइसकेको निर्माण समिति सचिव अजय राईले बताए ।

उनका अनुसार धरान समाज यूकेले आर्थिक संकलन गरिदिने जिम्मा लिएकाले काठमाडौंस्थित इनोभेटिभ इन्जिनियरिङ कन्सल्टेन्सीले आधुनिक आकाशे पुल डिजाइन, स्टिमेट गरिसकेको छ । बेलायतका लागि पुल निर्माण संयोजक उमेशराज मोक्तान लगायत सक्रियतासाथ लागेका छन् ।धरान यूके समाजले यसअघि पूर्वाञ्चल रंगशालाको पर्खाल लगाउन ५० लाख सहयोग गरिसकेको छ । धरानमा अाकाशे पुल नहुदा धरानबासी तथा धरान बाहिर बाट अाउने सर्बसाधरणले सास्ती खेप्न बाध्य भएका छन् ।