धरान/ धरानस्थित नेपाल बैक लिमिटेडको शाखा कार्यालयमा भएको ‘सट फल्ट’ काण्डका विषयमा बैंकको केन्द्रीय कार्यालयले छानविन भइरहेको जनाएको छ । तर कर्मचारी जोगाउन बढी लगिएको ऋण मिलाउने कामसमेत भइरहेको बैंक स्रोतले जानकारी गराएको छ । विष्फोटन दैनिकले गत शुक्रबार बैंकमा भएको घोटालालाई पहिलोपटक बाहिर ल्याएको थियो । धितोभन्दा कयौंगुणा बढी सुन कर्जामा ऋण प्रवाह भएको बताइए पनि आधिकारिक तथ्याङ्क भने अझै बाहिर आउन सकेको छैन । समाचार सार्वजनिक भएलगत्तै शुक्रबार धरानका एक व्यवसायीले हिसाब मिलाउन करिब २५ लाख रुपैयाँ बराबरको सुन बैंकलाई बुझाएर आफ्नो ऋण बराबरको सुन बनाएको कर्मचारी स्रोतले जानकारी गराएको छ ।

विष्फोटन दैनिक मार्फत् घटना सार्वजनिक भएलगत्तै अन्य स्थानीय पत्रपत्रिका र अनलाइनहरुले पनि यो विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन एवम् प्रसारण गरिरहेका छन् । सबैमा अगल–अलग विवरण आउँदा कति रकम बढी मिलेमतोमा लगानी भएको हो भन्नेमासमेत भ्रम पैदा भएको छ । काठमाडौंबाट आएको विज्ञ सम्मिलित छानविन टोलीले ‘सट फल्ट’ काण्डमा संलग्न ठानिएका ऋण अधिकृत राम मेहता र क्यासियरसमेत रहेका गोल्ड टेस्टर होम भट्टराईलाई निलम्बन गरेर छानबिन गरिरहेको स्रोतले जानकारी दिएको छ । तर बैंकले भने औपचारिक रुपमा कारबाहीको पुष्टि गरेको छैन ।

केन्द्रीय कार्यालयले भट्टराईलाई निलम्बन गरेको बताए पनि धरानस्थित शाखा कार्यालयले भने बिदामा रहेको बताउँदै आएको छ । भट्टराईनिकट एक उच्च अधिकारीले उनलाई जोगाउनका लागि ऋण र धितो बराबर बनाउन लगाएको बताइएको छ । सोही काम अहिले भट्टराई र बढी ‘लोन’ निकाल्ने काममा सक्रिय ज्ञानेन्द्र पुर्कुटी लगायतले गरिरहेको स्रोतले जिकिर गरेको छ । शनिबार पनि मोरङको विराटनगर र रङ्गेली आसपासको क्षेत्रमा रहेको जग्गा बैंकको नाममा सार्नका लागि गएको पुर्कुटी निकटहरुले जानकारी गराएका छन् । बैंकिङ कसूर अन्तर्गतको कानुनी कारबाहीबाट कसरी जोगिने भनेर घोटालामा संलग्नहरुबीच शुक्रबार राति अबेरसम्म धरान–९ स्थित एक होटेलमा बसेर छलफल गरेको बताइएको छ । शुक्रबार हिसाब मिलान गरेका व्यवसायीसहितको छलफलमा धितोमा अपुग रकम बराबरको धितो पुर्याए कारबाहीबाट जोगिने बैंकका एक उच्च अधिकारीले आश्वासन दिएकोसमेत स्रोतले जिकिर गरेको छ । शाखा प्रमुख बाबुराम कोइरालाले भने यो विषयमा आफू केही पनि बताउन नसक्ने जनाउँदै आएका छन् ।

यसअघि धरानकै सेन्चुरी बैंकको शाखा कार्यालयमा भएको ‘सट फल्ट’ काण्डमा संलग्न रहेका र अन्य केही सुन व्यवसायीसमेतको मिलेमतोमा नेपाल बैंकबाट धितोभन्दा बढी ऋण निकालेको भेटिएको स्रोतले जानकारी दिएको छ । लामो समयदेखि धरान शाखामा कार्यरत अधिकृत मेहता र गोल्ड टेष्टर भट्टराईसमेतलाई साथमा लिएर सुन व्यवसायी ज्ञानेन्द्र पुर्कुटी, सञ्जय राई र सुनिल बराइली लगायतले करोडाैं रुपैयाँ धितोभन्दा बढी निकालेको बैंकनिकट स्रोतले बताएको छ । तर पुर्कुटीबाहेकले भने बैंकसँग आफूहरुको कारोबार नरहेको दाबी गर्दै आएका छन् । बैंकको धरान शाखाले ‘गोल्ड लोन’ शीर्षकमा करिब २१ करोड रुपैयाँ लगानी गरेको स्रोतको भनाइ छ । २१ करोड रुपैयाँमध्ये करिब आधा रकम बराबरको मात्रै सुन धितोमा रहेको बताइएकोे छ । सुन व्यवसायीहरुले आफ्नो नाममा धेरै सुन देखाउँदा समस्या हुने भयले नातेदार र कर्मचारीसमेतको नाममा ऋण निकाल्ने गरेका छन् । बैंकले सुन कर्जालाई व्यक्तिगत कर्जा मान्ने गरेका कारण सुन पसल या फर्मको नाममा बैंकहरुले ऋण प्रवाह नगर्ने गरेका कारण ठगीमा संलग्न उम्कने र निर्दाेष व्यक्ति फस्ने सम्भावना समेत रहने बैंकर्सहरुको भनाइ छ ।

शनिबार पनि दिनभर छानविन टोलीले धरानस्थित कार्यालयमै बसेर छानविन गरेको बताइएको छ । बैंक नजिक रहेका व्यवसायीहरुले पनि बैंकभित्र केही नयाँ अनुहारका व्यक्ति देखिएको र शनिबार पनि भित्र सबै कर्मचारी रहेको जानकारी गराएका छन् । गत कात्तिकमा धरान शाखा सम्हाल्न आएका बाबुराम कोइरालाले पनि अख्तियारी दिएका अधिकृत राम मेहता २०६९ असोजदेखि नै सुन कर्जा हेर्दै आएका व्यक्ति हुन् भने टेष्टर भट्टराई पनि लामो समयदेखि एउटै शाखामा एउटै काममा संलग्न छन् । धरान शाखामा भइरहेको छानविन पूरा हुन अझै एकसाता लाग्ने बताइएको छ ।