हिरो हुन आर्यन अनुहार, लामो कपाल, कसिलो शरीर, वजनदार आवाज हुनुपर्छ भन्ने सोच तोडेर नेपाली फिल्ममा भित्रिएका फरक अनुहार हुन् दयाहाङ राई । दयाहाङलाई पनि लागेको थियो हिरो हुन कि राजेश हमाल जस्तो ज्यान र उचाई हुनुपर्छ नभए आर्यन सिग्देल जस्तो चकलेटी अनुहार । तर, अहिले सबैका प्रिय नायक बनेका छन् दयाहाङ राई ।
'लुट'मा निर्वाहा गरेको गोफ्ले चरित्रले दयाहाङलाई एउटा उचाईमा पुरायो । त्यसपछि उनलाई स्टार बनायो फिल्म ‘कबड्डी’ ले । ‘कबड्डी’ पछि दयाहाङले आफ्नो करिअर पछाडि फर्किएर हेर्नु परेको छैन् । तर,'कबड्डी कबड्डी', 'झोले', 'लुट २', 'लोफर', 'वडा नम्बर ६', 'घामपानी', 'लप्पन छप्पन' हुँदै गएको महिना रिलिज भएको फिल्म 'लाल्टिन'सम्म आइपुग्दा दर्शकहरुले दयाहाङलाई उस्तै–उस्तै भूमिकामा प्रस्तुत भैरहेको अभिनेताका रूपमा चिने । हुनत, उनले आफ्नो छवि परिवर्तन गर्न नखोजेका होइनन् तर खासै जम्न सकेनन् ।
पुरानै छविलाई निरन्तरता दिँदै आएका उनीमाथि अहिले दर्शकहरुको पनि एउटै जिज्ञासा छ, 'किन दयाहाङ फरक भूमिकामा देखिन चाहन्नन् ?' यो प्रश्नको उत्तर उनले नदिएका होइनन् । उनी भन्छन्, 'आफूले भनेजस्तै भूमिका खोज्न निकै गाह्रो छ । हो, मलाई दर्शकहरुले प्रायः एकै खालको भूमिकामा हेर्दै आउनुभएको छ । यसले मेरा प्रशंसकहरुलाई मात्र होइन मलाई पनि नरमाइलो लाग्छ ।'
फिल्म ‘लाल्टिन’ सम्म आइपुग्दा दयाहाङको एकनासको भूमिकाले दर्शकहरू नै ‘ह्याङ’ हुने अवस्था सिर्जना भएको छ । यसै वर्षको बैशाख १ गते रिलिज भएको फिल्म 'घामपानी'ले पुनः दयाहाङका दर्शकहरुलाई ‘कबड्डी’ कै स्मरण गरायो भने 'लाल्टिन'ले 'लप्पन छप्पन'को । अहिले दयाहाङलाई यही एउटा डरले सताउन थालेको छ कि एकै खालको भूमिकामा बारम्बार प्रस्तुत भैरहँदा भोली आफ्नो करिअरलाई कस्तो अफ्ठ्यारो पर्ला ?
एकैखाले भूमिकामा प्रस्तुत भैरहेका कारणले पनि दयाहाङका पछिल्ला फिल्महरुले खासै कमाल गर्न सकेका छैनन् । पुरानै छविलाई निरन्तरता दिने हो अभिनय करिअर कता जाला ? दयाहाङको मनमा अहिले यही एउटा प्रश्नले डेरा जमाएको छ । अब दयाहाङले भोलीका दिनमा आफ्नो छवि परिवर्तन नगरे मिडियामा यो समाचार आउन पनि ढिला छैन कि दयाहाङको हातमा फिल्म छैन् ।